×

वीरगञ्ज, ३१ चैत्र । वीरगञ्जकाे नारायणी अस्पतालमा उपचारका क्रममा एकजना काेराेना सङ्क्रमितको मृत्यु भएकाे छ ।

चैत्र २९ गते कोरोना सङ्क्रमण पुष्टि भएर उपचाररत बारा जिल्लाको जितपुरसिमारा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरा निवासीका ३७ बर्षका पुरूषकाे मृत्यु भएकाे हो । 
 
नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. निरज कुमार सिंहले युवकको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको पुष्टि गरेका छन् ।

होली भन्दा दुई दिन अगाडी चैत्र १४ गते भारतको हैदराबादबाट नेपाल आएका युवक विरामी परेपछि चैत्र २६ गते वीरगञ्जस्थित एडभान्स मेडिकेयर अस्पतालमा भर्ना गराइएको थियो । 

श्वासप्रश्वास, ज्वरो र कडा निमोनिया जस्ता लक्षण देखिएपछि कोरोना सङ्क्रमणको शङ्का लागेर उनको पिसिआर प्रविधिबाट परिक्षण गर्दा चैत्र २९ गते सङ्क्रमण पुष्टि भएको डा. सिंहले जानकारी दिए ।

एडभान्स हस्पिटलमै उपचार गराईरहेका उनको स्वास्थ्य अवस्था बिग्रेपछि गएराती करिव १२ बजे उनलाई नारायणी अस्पतालस्थित कोभिड आइसोलेशन वार्डमा भर्ना गरिएको थियो । उपचारको क्रममा युवकको आज बिहान करिव साढे ३ बजे मृत्यु भएको डा. सिंहले बताए । 

यसअघि पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ निवासी एक ५५ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण चितवनको भरतपुर् अस्पतालमा हिजो मृत्यु भएको थियो । उनको शवलाई नेपाली सेनाको सहयोगमा गृह जिल्ला पर्सा ल्याएर व्यवस्थापन गरिएको थियो ।

योसँगै पर्सामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ भने पछिल्लो समय सङ्क्रमितहरुको सङ्ख्यामा पनि वृद्धि भएको छ । आइतबार मात्रै ९५ जनाको पिसिआर परिक्षण गर्दा पर्साका ३७ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

Back to top