×

वीरगञ्ज, ३० चैत्र । प्रदेश नम्बर २ को प्रदेशसभा बैठक झण्डै ६ महिनापछि आज बस्दैछ । ६ महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौं अधिवेशन सुरु गर्न लागिएको हो ।

बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा संसद् सचिवालयका सचिव रञ्‍जितकुमार यादवले जानकारी दिए । प्रदेशसभा संसद् सचिवालयका अनुसार चौथो अधिवेशन कात्तिक ४ गते सकिएको थियो । 

बैठकअघि कार्य व्यवस्था समितिको बैठक बस्ने भनिएको छ । तर‚ नेकपा पार्टी विभाजन र जनता समाजवादी पार्टी एकता भएकाले कार्य व्यवस्था समितिको सदस्य फेरबदल गर्न दललाई पत्र पठाए पनि उनीहरूले नाम नदिँदा कार्य व्यवस्था समितिको बैठक अन्योलमा परेको छ ।

पाँचौं अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराएर शुभकामना दिने कार्यसूची छ । यस्तै‚ प्रदेश २ मा नेकपा एमालेको माधव–झलनाथ समूहले संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएर शत्रुघन महतोलाई चयन गरेको छ । यस्तै‚ माओवादीले चारजना संसदलाई कारबाही गरेको छ। माओवादी केन्द्रबाट निर्वाचित सांसद रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरको सांसद पद गुम्ने छ । उनीहरु नेकपा विभाजनपछि माओवादी केन्द्र छाडेर एमाले गएका छन्। 

रामचन्द्र मण्डल माओवादी केन्द्रबाट धनुषा–१ को ‘ख’बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् । यस्तै, ज्वालाकुमारी साह बारा क्षेत्र नम्बर ३ को ‘क’ र कुन्दनप्रसाद कुशवाह रौतहट–३ को ‘ख’बाट माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित हुन् । नेकपा विभाजित भएका बेला उनीहरु एमाले ओली पक्षमा प्रवेश गरेका थिए ।  यस्तै, बाराबाट समानुपातिकतर्फ निर्वाचित मोहम्मद समीर पनि एमालेका प्रवेश गरेका छन् ।

एमालेमै बस्ने निर्णय गरेपछि गत शुक्रवार चारै सांसदलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २४ घण्टे स्पष्टीकरण सोधेका थिए । तर उनीहरुले स्पष्टीकरणको जवाफ दिएनन् ।

पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिए पनि कारबाही गर्ने भएपछि उनीहरु स्पष्टीकरणको जवाफ नदिने निष्कर्षमा पुगेका छन् । स्पष्टीकरण नबुझाएपछि सम्भवतः आजै उनीहरुले सांसद पद गुमाउनेछन् ।

प्रदेश नम्बर २ का सभामुख सरोजकुमार यादवले प्रदेशसभा बैठकमा चार सांसदको पद रिक्त भएको सूचना प्रदेशसभा बैठकलाई जानकारी गराउन सक्नेछन् । यसअघि माओवादीबाट सांसद् बनेका संघीय सांसदका चार र लुम्बिनी प्रदेशका दुई सांसद् पदमुक्त भएका छन् ।

Back to top