×

नयाँदिल्ली : कोरोना भाइरसको नयाँ भेरियन्ट (परिवर्तित रुप) तीव्र रुपमा फैलिन थालेपछि भारतमा दैनिक संक्रमितको संख्या बढिरहेछ । शुक्रबार एकै दिन भारतमा १ लाख ४४ हजार ८२९ जना नयाँ संक्रमित फेला परेका छन् । दैनिक संक्रमितकाे यो सङ्ख्या कोरोनाभाइरस महामारी सुरु भएदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जनाएका छन् ।

वल्र्डोमिटर्सका अनुसार भारतमा बिहीबार पनि १ लाख ३१ हजारभन्दा बढी संक्रमित भेटिएका थिए । बुधबार यो संख्या १ लाख २६ हजार ३१५ थियो । यससँगै त्यहाँ कुल संक्रमित संख्या १ करोड ३२ लाख नाघेको छ । साथै शुक्रबार कोरोना संक्रमणका कारण भारतमा ७७३ जनाले ज्यान गुमाएका छन् । यससँगै त्यहाँ हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ६८ हजार ४६७ पुगेको छ ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १० लाख ४६ हजार ६३१ रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार मात्रै ७७ हजार ५६७ जना कोरोनाभाइरस मुक्त भएका छन् भने अहिलेसम्म कोरोनाभाइरस मुक्त भएकाहरुको सङ्ख्या १ करोड १९ लाख ९० हजार ८५९ रहेको छ ।

भारतमा मार्च महिनादेखि नै कोरोना संक्रमणको ग्राफ पुनः उकालो लाग्न थालेको हो । कोरोनाको युके भेरियन्ट बढी संक्रामक र घातक मानिएको छ । यसैका कारण पनि अहिले विभिन्न देशमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको छ ।

Back to top