×

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले स्रोत नखुलेको वीरगन्ज रानीघाट पुलबाट १६ लाख रकम सहित २ पक्राउ परे पछि आदर्शनगरका उमेश शर्मा पनि पक्राउ गरेको छ ।

प्रहरी टोलीले स्रोत नखुलेको १६ लाख रकम सहित ३ जनालाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा खटिएको सो प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नं. १० रानीघाट पुलस्थित चेकजाँच गर्ने क्रममा ना. १२ प ५०७३ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकलमा चढी आउँदै गरेका २ व्यक्तिलाई चेकजाँच गर्दा १६ लाख रकम बरामद भएको थियो ।

सो रकम कहाँबाट ल्याएको भनी स्रोत खुल्न नसकेपछि प्रहरीले मोटरसाईकल र उक्त रकम सहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं. ४ परशुरामपुर बस्ने वर्ष ४५ को तवारख देवान र सोही ठाउँ बस्ने वर्ष ६० को जोखन साई फकिर रहेका छन् । प्रहरीले दुवैजनासंग प्ररम्भिक सोधपुछ गर्दा वीरगंज महानगरपालिका आदर्शनगर बस्ने वर्ष ५० को उमेश शर्माको समेत सो कारोबारमा संलग्नता रहेको खुल्न आएपछि निज उमेशलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।


प्रहरीले तिनै जनालाई बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन २०७३ विपरितको कसुरमा जिल्ला अदालत पर्साबाट आदेश लिई ७ दिनको म्याद थप गराई थप अनुसन्धानमा जुटेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Back to top