×

वीरगन्ज । कमिसन नआउने भए पछि पर्सा पालिकाका पदअधिकारीहरुले सङ्घ र प्रदेशको बजेट नै खर्च गरेका छैन्न । पर्साका पालिकाहरूले सङ्घको बजेट ५६ प्रतिशत र प्रदेशको बजेट २० प्रतिशत मात्र खर्च गरेका छन्।


कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साको तथ्याङ्क अनुसार चालू आवको साउनदेखि फागुनसम्म पर्साका वीरगन्ज महानगरपालिका, तीनवटा नगरपालिका र १० वटा गाउँपालिका गरी १४ वटा पालिकाहरूको लागि सङ्घ सरकारबाट रु ४ अर्ब ८६ करोड १८ लाख २९ हजार बजेट छुट्याइएकोमा फागुनसम्म ५६.३२ प्रतिशत अर्थात् २ अर्ब ७३ करोड ८४ लाख ४६ हजार मात्र खर्च भए अनुसार निकास गरिएको छ भने प्रदेश सरकारबाट प्राप्त बजेट चालू आवको लागि रु ३१ करोड ४० हजारमध्ये २०.६६ प्रतिशत अर्थात् ६ करोड ४० लाख ७१ हजार मात्र निकासा गरिएको कोलेनिका पर्साका अधिकृत विष्णु सुवेदीले बताए।


उनका अनुसार सङ्घ सरकारतर्फबाट वीमनपाले रु १ अर्ब ४४ करोड १४ लाख ९८ हजार बजेट पाएकोमा वित्तीय समानीकरण र सशर्त अनुदानतर्फ रु ७० करोड ४७ लाख ३५ हजार निकासा पाएको छ भने प्रदेश सरकारबाट रु ४ करोड ९१ लाख २० हजार बजेट पाएकोमा एक रुपैयाँ पनि निकासा पाएको छैन। पोखरिया नगरपालिकालाई रु ३२ करोड ३१ लाख ७४ हजार सङ्घ सरकारबाट बजेट विनियोजन गरिएकोमा रु २० करोड ७० लाख ८१ हजार निकासा पाइसकेको छ भने प्रदेश सरकारबाट रु २ करोड १ लाख ८ हजार बजेट विनियोजन गरिएकोमा रु ७३ लाख ३१ हजार निकासा पाएको छ।पकाहामैनपुर गापालाई सङ्घ सरकारबाट रु २० करोड १९ लाख १७ हजार बजेट छुट्याइएकोमा रु ९ करोड ८३ लाख २२ हजार र प्रदेश सरकारबाट रु १ करोड ९९ लाख ३३ हजार बजेट छुट्याइएकोमा रु ७७ लाख ६ हजार निकासा पाएको छ।


त्यसैगरी, सङ्घले कालिकामाई गापालाई रु २१ करोड ६९ लाख ४८ हजार बजेट विनियोजन गरेकोमा रु १३ करोड ९४ लाख १२ हजार र प्रदेशबाट रु १ करोड ९९ लाख ३३ हजार बजेट छुट्याइएकोमा रु ३४ लाख ६६ हजार निकासा पाएको छ।


धोबिनी गापालाई रु २१ करोड ६ लाख ५८ हजार सङ्घ सरकारले बजेट छुट्याएकोमा रु १३ करोड ४० लाख ४३ हजार निकासा पाएको छ भने प्रदेश सरकारबाट रु १ करोड ९९ लाख ४२ हजार बजेट छुट्याइएकोमा रु १७ लाख ३५ हजार निकासा पाएको छ।


ठोरी गापालाई सङ्घले २८ करोड ८७ लाख १४ हजार बजेट छुट्याएकोमा रु १४ करोड ६३ लाख ९४ हजार र प्रदेश सरकारबाट रु १ करोड ९९ लाख ४८ हजार छुट्याइएकोमा एक रुपैयाँ पनि निकासा पाएको छैन।


विन्ध्यवासिनी गापालाई रु २३ करोड ३८ लाख ८२ हजार सङ्घ सरकारबाट बजेट विनियोजन गरिएकोमा रु १४ करोड ४३ लाख १० हजार र प्रदेश सरकारबाट करीब रु २ करोड बजेट पाएकोमा रु ७८ लाख ४४ हजार मात्र निकासा पाएको छ।


बहुदरमाई नपालाई रु ३२ करोड १२ लाख २३ हजार सङ्घ सरकारबाट बजेट विनियोजन गरिएकोमा रु २० करोड ६७ लाख ३ हजार निकासा पाएको छ भने प्रदेश सरकारबाट २ करोड ३ लाख बजेट छुट्याइएकोमा रु १ करोड ७ लाख ८० हजार निकासा पाएको छ। सखुवाप्रसौनी गापालाई रु ३२ करोड ६ लाख ९६ हजार सङ्घ सरकारबाट निकासा पाएकोमा रु १७ करोड ९२ लाख ६८ हजार मात्र निकासा पाएको छ। प्रदेशबाट रु २ करोड १ लाख बजेट छुट्याइएकोमा रु ३७ लाख १ हजार निकासा पाएको छ।


पटेर्वासुगौली गापालाई रु २४ करोड १६ लाख १२ हजार सङ्घ सरकारबाट बजेट छुट्याइएकोमा रु १५ करोड २७ लाख ४७ हजार निकासा पाएको छ भने प्रदेश सरकारबाट झन्डै रु २ करोड बजेट विनियोजन गरिएकोमा रु ५२ लाख १७ हजार निकासा पाएको छ।


पर्सागढी नपालाई रु २९ करोड ४१ लाख ६८ हजार सङ्घ सरकारबाट बजेट छुट्याइएकोमा रु १९ करोड ८६ लाख ९५ हजार र प्रदेश सरकारबाट रु २ करोड ३ लाख बजेट छुट्याइएकोमा एक रुपैयाँ पनि निकासा पाएको छैन।


जगरनाथपुर गापालाई सङ्घले रु २७ करोड ७ लाख ३७ हजार बजेट छुट्याएकोमा रु १७ करोड ३० लाख ८८ हजार निकासा पाएको छ भने प्रदेश सरकारबाट रु २ करोड १ लाख बजेट पाएकोमा रु ३५ लाख ८२ हजार मात्र निकासा पाएको छ।


छिपहरमाई गापालाई सङ्घ सरकारबाट रु २४ करोड ४४ लाख बजेट विनियोजन भएकोमा फागुनसम्म रु १३ करोड ९४ लाख ११ हजार र प्रदेश सरकारबाट रु २ करोड १ लाख बजेट विनियोजन भएकोमा रु ९१ लाख ४१ हजार निकासा पाएको छ।


जीराभवानी गापालाई रु २५ करोड २१ लाख ९७ हजार सङ्घ सरकारबाट बजेट विनियोजन भएकोमा रु ११ करोड ३४ लाख ३ हजार निकासा पाएको छ भने प्रदेश सरकारबाट रु २ करोड बजेट पाएकोमा रु ३४ लाख ७५ हजार मात्र निकासा पाएको कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साले जनाएको छ।


अधिकारीहरूका अनुसार आवको अन्तिम तीन महीना वैशाख, जेठ, असारमा पूँजीगत खर्च गर्ने परिपाटी रहेकोले बढीजसो रकम चालू आवको अन्तिम त्रैमासिकमा मात्र खर्च हुने भएकोले प्रदेश सरकारको २१ प्रतिशत मात्र बजेट खर्च भएको छ भने सङ्घ सरकारको ५६ प्रतिशत बजेट खर्च भएको छ।

Back to top