×

वीरगन्ज । नेपाल पत्रकार महासङ्घ पर्सामा अध्यक्षलगायत सम्पूर्ण पदाधिकारीमा प्रेस चौतारी पक्षधर उम्मेदवारहरूको प्यानल विजयी भएको छ भने प्रेस युनियन गठबन्धनका केही सदस्यमा विजयी भएका छन् । 


बुधवार सम्पन्न निर्वाचनको मतगणना कार्य राति अबेर सकिएपछि निर्वाचन आयोगले परिणाम सार्वजनिक गरेको छ ।


महासङ्घ पर्साको कुल १४० मतमध्ये अध्यक्षमा अनुप तिवारी ७५ मत प्राप्त गरी विजयी भएका छन् । उनको एकमात्र प्रतिद्वन्द्वी युनियनका रितेश त्रिपाठीले ६३ मत प्राप्त गरेका छन् । 


त्यसैगरी, उपाध्यक्षमा युवराज खड्का ६३ मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी राघव साहले ५९ मत पाए भने उपाध्यक्षका अर्का उम्मेदवार शेखरबहादुर क्षेत्री ९छतकुली०ले १३ मत प्राप्त गरेका छन् ।


महासङ्घका पदाधिकारीमध्ये महिला उपाध्यक्ष र सचिव पदमा ठूलो मतान्तरले चौतारी पक्षधर उम्मेदवार विजयी भएका छन् । महिला उपाध्यक्षमा सुषमा शर्माले ८४ मत प्राप्त गरी एकमात्र प्रतिद्वन्द्वी नीलिमा पौडेललाई २९ मतान्तरले पराजित गरिन् । त्यसैगरी, सचिवमा भूषण यादवले ८३ मत प्राप्त गरी एकमात्र प्रतिद्वन्द्वी क्रान्तिप्रसाद साहलाई २९ मतान्तरले पराजित गरेका छन् ।


पदाधिकारीमध्ये सहसचिवमा सोही प्यानलका जियालाल साहले ७३ मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी मनोजकुमार पटेलले ५३ मत र सुरेश बिडारीले ११ मत प्राप्त गरेका छन् ।


सहसचिव समावेशीतर्फ जीतेन्द्र साहले ७३ र प्रतिद्वन्द्वी अमितकुमारले ५६ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा सञ्जीवकुमार मिश्र ७७ मत प्राप्त गरी विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी नीरज पीठाकोटे मगर ६० मत प्राप्त गरी पराजित भएका छन् ।


कार्यसमितिको सदस्य मधेसीतर्फ तिवारी यादव ८३ मत प्राप्त गरी विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी हरिशङ्कर शर्माले ५१ मत प्राप्त गरेका छन् । महिला सदस्यमा कविता खड्काले ७५ मत प्राप्त गरी विजयी भइन् । उनको प्रतिद्वन्द्वी विमला गुप्ताले ५७ मत प्राप्त गरिन् । आदिवासी जनजाति सदस्यमा रश्मी राजभण्डारी ७५ मतका साथ विजयी भइन् भने राम मण्डलले ५४ मत प्राप्त गरेका छन् ।


कार्यसमितिका अन्य समावेशी सदस्यमा भने चौतारी पक्षधरका नेहाल खान ६४ मत प्राप्त गरी पराजित भए भने प्रेस युनियन गठबन्धनका अमित अग्रवाल ६७ मत पाएर विजयी भएका छन् । अन्य खुला सदस्यहरू ६ जनामा युनियन गठबन्धनकै अजय चौरसिया र नरेश सर्राफ युनियन गठबन्धनबाट विजयी भएका छन् भने बाँकी चारजना धर्मेन्द्र चौरसिया, पुष्पराज तिमिल्सिना, सफल खतिवडा र श्याम कुशवाहा प्रेस चौतारीतर्फबाट विजयी भएका छन् । महासङ््घका तीनजना केन्द्रीय परिष्द सदस्यमा चौतारी प्यानलकै महेशचन्द्र गौतम, विजय भण्डारी र विजय कुशवाहा विजयी भएका छन् ।


यसैगरी, ९ सदस्यीय प्रदेश परिषद् सदस्यमा चौतारी प्यानलका आशिक अन्सारी, प्रकाश तिवारी, विनोद परियार, कन्हैया गुप्ता, निरञ्जन मिश्र, कन्हैयाकुमार साह र शिवशङ्कर साहसमेत ७ जना विजयी भएका छन्  भने युनियन गठबन्धनका कृष्णकुमार खनाल र रामनारायणप्रसाद कुर्मी विजयी भएको महासङ्घको निर्वाचन कार्यालयले जानकारी गराएको छ ।


महासङ्घ पर्साको कुल १४० मतदातामा सबैजना मतदानमा सहभागी भएका थिए । जिल्लाको मतगणना सम्पन्न भएपनि प्रदेश र केन्द्रको मतपत्र गणना कार्य जारी रहेको निर्वाचन अधिकृत शत्रुघ्न नेपालले जानकारी गराए ।
 

Back to top