×

वीरगञ्ज, २४ चैत । नेपालको मूख्य प्रवेशद्वारको रुपमा चिनिने शंकराचार्य गेटमा अवस्थित फ्लाग टावरमा रहेको नेपालको राष्ट्रिय झण्डा परिवर्तन गरिएको छ ।

यसअघि राखिएको राष्ट्रिय झण्डा खुल्ला स्थान र खराब मौसमका कारण च्यातिएपछि नयाँ झण्डा परिवर्तन गरिएको हो ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवको संसदीय विकास कोष र तलव भत्ता वापत प्राप्त रकमबाट उक्त फ्लेग टावर गत साउन महिनामा स्थापना गरिएको थियो । नेपालमा पहिलो पटक अत्याधुनिक बत्ती जडान नेपालको राष्ट्रिय झण्डा सहित फ्लेग टावर स्थापना भएपछि स्थानीय खुसी भएका थिए । त्यसबेला स्थानीयले यसलाई एतिहासिक कार्यको संज्ञा दिँदै सांसद् यादवको प्रसंसासमेत गरेका थिए ।

तर, सरोकारवाला निकायले ध्यान नदिँदा विगत केहि हफ्तादेखि फ्लेग टावरमा रहेको नेपालको राष्ट्रिय झण्डा च्यातिएको अवस्थामै थियो । च्यातिएको झण्डा यात्रा डेली डटकममा समाचार आएपछि सांसद् यादवको विशेष पहलमा र सक्रियतामा झण्डा परिवर्तन गरिएको हो । यादवले पुन: आफ्नो व्यक्तिगत खर्चबाट झण्डा परिवर्तन गराएका हुन् ।

झण्डा परिवर्तन गराउन सांसद् यादव स्वयम् पुगेको उनका स्वकीय सचिव निखिल बरनवालले जानकारी दिए ।

Back to top