×

काठमाण्डौ, २२ चैत । भारतको छत्तीसगढस्थित बिजापुर जिल्लामा शनिबार माओवादी र सुरक्षाकर्मी बीच भएको भिडन्तमा परी हालसम्म २२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने ३१ जना सुरक्षाकर्मी भने घाइते भएका छन् ।

यस्तै एकजना सुरक्षाकर्मी भने सम्पर्कविहिन रहेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । सुरक्षाकर्मी र माओवादीबीच त्यहाँ ४ घन्टासम्म दोहोरो फायरिङ भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

छत्तीसगढ राज्यको राजधानी रायपुरबाट ४०० किलोमिटर टाढा रहेको बिजापुर उक्त घटना भएको हो । भिडन्तपछि नक्सलवादीहरुले करिब २ दर्जन बढी हतियार पनि लुटेको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ ।

सो भिडन्तमा ९ जना माओवादीको पनि मृत्यु भएको सुरक्षा अधिकारीहरुले दाबी गरेका छन् । शनिबार बिजापुर र सुकमा जिल्लामा विभिन्न सुरक्षा निकायका करिब २ हजार सुरक्षाकर्मी सम्मिलित टोलीले त्यहाँको नक्सलवादी विरुद्ध अप्रेसन सुरु गरेको थियो । सोही क्रममा माओवादीले एम्बुस गरेर आक्रमण गरेपछि भिडन्त सुरु भएको बताइएको छ ।

गत साता नारयानपुर जिल्लामा माओवादीले २७ सुरक्षाकर्मी सवार गाडीमा आक्रमण गर्दा ५ जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएपछि सुरक्षाकर्मीको संयुक्त टोलीले कारवाही प्रक्रिया अगाडि बढाएको हो ।

Back to top