×

वीरगञ्ज, २१ चैत । अख्तियारले एक वर्षअघि राजस्व अनुसन्धान कार्यालय पथलैयामा छापामारी नियन्त्रणमा लिएको ७२ हजार केजी गुणस्तरहिन चिनी नष्ट हुने भएको छ । विगत १ वर्षदेखि व्यावसायीहरुको चर्काे दबाबमा पटकपटक नमुना परीक्षण गरेर सेवनयोग्य बनाउने चलखेल भएपनि अन्तत: आउँदो सोमबार नष्ट हुने भएको हो । 

चौथोपटक राजस्व अनुसन्धान कार्यालय पथलैयाले पठाएको नमुना परीक्षणको प्रतिवेदनमा पनि सेवन गर्न अयोग्य भनी प्रमाणित भएपछि उक्त परिमाणको चिनी नष्ट गर्न लागिएको हो । 

राजस्वले पठाएको नमुनाका आधारमा खाद्य तथा गुण नियन्त्रण कार्यालय जनकपुरले सेवन गर्न अयोग्य भनी प्रमाणित गरेको थियो । खाद्यको प्रतिवेदनका आधारमा राजस्व अनुसन्धान विभागले चैत ६ गते पथलैयालाई पत्र पठाएर सो चिनी नष्ट गर्न अनुमति दिएको हो । ७२ हजार केजी चिनी १ वर्षदेखि राजस्व अनुसन्धान कार्यालय पथलैयाको गोदाममै थन्किएको छ ।

सेवन गर्न अयोग्य प्रमाणित भएको चिनीलाई अदालतले आवश्यक व्यवस्थापन गर्नु भनेकोले चिनी नष्ट गर्न लागिएको राजस्व अनुसन्धान पथलैयाका प्रमुख अनुसन्धान अधिकृत टंक पाण्डेले बताए ।

यता उपभोक्ता हित संरक्षण मञ्चले भारतको उत्तरप्रदेशबाट जलेश्वर भन्सारको बाटो हुँदै नेपाल भित्रिएको अखाद्य चिनी नेपाल भित्र्याउने व्यवसायी र त्यसमा संग्लन कर्मचारीलाई कारबाही गर्न समेत माग गरेको छ ।
 

Back to top