×

वीरगञ्ज, २१ चैत । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान पूर्ण नभएको बताएका छन् । 

माओवादी केन्द्रको कपिलवस्तु जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई तौलिहवामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । 

'यो संविधान पूर्ण छैन। मधेशी जनताका अधिकार जति हुनुपर्ने हो त्यो छैन। तैपनि संविधानले धेरै उपलब्धिलाई संस्थागत गरेको छ । मैले त्यसबेला असहमति राख्दै यो संविधान स्वीकार गरेको हुँ। प्राप्त उपलब्धिको रक्षा गर्दै अघि बढ्ने शर्तमा यो संविधान स्वीकार गरिएको हो,' उनले भने ।  

संविधान पूर्ण नभएपनि यसले केही दुरगामी परिवर्तन भने ल्याएको उनको भनाइ छ । सम्बोधनका क्रममा उनले बढी समय हिन्दी भाषाको प्रयोग गरे । 

'संविधानमा  नेपालका मजदुर र किसानका लागि मौलिक अधिकारका रूपमा शिक्षा स्वास्थ्य रोजगारीका विषयलाई मौलिक अधिकारका रूपमा उल्लेख गरेको छ। यसअघि यी अधिकार राजाका तर्फबाट दिइन्थे । संविधानमा हामीले यी सबै अधिकार जनतामा निहित गरेका छौँ,' उनले भनेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली मधेशी जनतालाई कुनै पनि अधिकार दिने पक्षमा नरहेको समेत आरोप लगाएका थिए । 

Back to top