×

वीरगञ्ज, २१ चैत । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ५ बहुअर्वामा उत्पन्न हिन्दु र मुस्लिम समुदायबिचको विवादले नयाँ मोड लिएको छ । 

एकथरीले होली मनाउन हस्तक्षेप गरेर धार्मिक विभेद गरेको आरोप लगाएको छ भने अर्काेथरीले वडाअध्यक्षलाई फसाउन राजनितिक षड्यन्त्र भएको बताएको छ । अब कुरा कसको पत्याउने भन्ने अन्यौल छ । 

शुक्रवार बहुअर्वाका ३० जना स्थानीयले हस्ताक्षर गरेको प्रेस विज्ञप्ती सार्बजनिक गर्दै वडाअध्यक्ष असलम आलम निर्वाचित भएदेखि धर्मको आधारमा विभेद हुने गरेको आरोप लगाए । शनिवार वडा नम्बर ५ पँचरुखीका स्थानीयले वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै उक्त आरोप अतिरञ्जित भएर प्रतिशोध साध्ने प्रयास गरेका बताउँदै आरोपको खण्डन गरेका छन् । 

आरोपको खण्डन गर्ने बेलामा वडा अध्यक्ष आलमको भने उपस्थिती थिएन । न त् पत्रकार सम्मेलनमा बहुअरी गाउँका स्थानीय उपस्थित थिए । जनता समाजवादी पार्टीका वडा इकाई कमिटीका अध्यक्ष अशोक यादबको नेतृत्वमा गरिएको पत्रकार सम्मेलनमा हुँदै नभएको विषयलाई लिएर धर्मको आडमा साम्प्रदायिक सद्भावमा आँच पु-याएको बताएका छन् । 

वडाअध्यक्ष आलम निर्वाचित भएदेखि वडामा थुप्रै विकास निर्माणका कार्यहरु भएको बताउँदै कामको आरिसमा र आगामी निर्वाचनलाई मध्यनजर गर्दै हिन्दु र मुस्लिमबिच मतभेद उत्पन्न गराउने कार्य गरेको जसपा युवा संघ पर्साका अध्यक्ष गौरव वर्माले बताए । वडा अध्यक्ष आलम स्वयमको उपस्थितीमा उल्लासपुर्ण वातावरणमा होली मनाएको तस्बिर समेत सामाजिक सञ्जालमा देख्न सकिने स्थानीय नगिना रायभरले बताए । 

उक्त टोलमा भएको बिहेमा बाजागाजाको साथमा आफु स्वयम उपस्थिती भएको हुँदा बिहेबारीमा बाजागाजा बजाउन नदिने कुरामा कुनै सत्यता नभएको रायभरको भनाई छ । 

बहुअर्वाका स्थानीयले पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष आलमलाई आरोप लगाए पनि उक्त आरोपको खण्डण गर्न वडा अध्यक्ष स्वयम  उपस्थिती नहुनु  र बहुअर्वाकै स्थानीय उपस्थिती नभएर अर्काे टोलका बासिन्दा तथा जसपा वडा कमिटिका अध्यक्ष उपस्थिती हुनुले विभिन्न आशंकाहरु उत्पन्न गरेको छ ।  

Back to top