×

वीरगञ्ज, २० चैत ।  पछिल्लो समय भारतमा बढ्दो कोरोना संक्रमणले उग्र रुप लिन थालेको छ । दक्षिणी राज्यहरुपछि अब भारतको राजधानी दिल्ली र सबैभन्दा धेरै जनसंख्या भएको  उत्तर प्रदेशमा पनि कोरोना कहर देखिन थालेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै उत्तरप्रदेशको लखनौमा सबैभन्दा धेरै ९ सय ३५ जनालाई संक्रमण देखिएको छ भने उत्तर प्रदेशभरी २६ सय जनामा संक्रमण पुष्ठि भएको छ । यस्तै भारतमा जम्मा ८१ हजार ४ सय ६६ जनामा संक्रमण देखिएको छ भने ४ सय ६९ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

संक्रमण तिव्र गतिमा फैलिएपछि उत्तरप्रदेशमा कक्षा ८ सम्मका विद्यालयहरु अप्रिल ११ सम्म बन्द गरिएको छ । यसअघि ४ अप्रिलसम्म बन्द गर्ने भनिएपछि अहिले बढ्दै गरेको संक्रमणलाई मध्यनजर गर्दै ११ गतेसम्म बढाइएको हो । कक्षा ९ र १० का विद्यार्थीहरुलाई भने अभिभावकको अनुमतिमा परिक्षा गर्न बोलाईने तथा अनलाईन कक्षालाई जोड दिइने बताइएको छ ।

उत्तरप्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथले कुनै किसिमको ढिलाई तथा लापरवाही नगर्न स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् । यसैविच भारतको राजधानी दिल्लीमा पनि अनिश्चितकालसम्मका लागि विद्यालय बन्द गरिएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले स्वास्थ्य सावधानी अपनाउन र सुरक्षित भएर बस्न नागरिकलाई आग्रह गर्दै स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई कुनै पनि स्रोत साधनको अभाव हुन नदिई काम गर्न निर्देशन दिएका छन् । 
 

Back to top