×

विविसी ।

वीरगञ्ज, १९ चैत । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌को एउटा आपत्‌कालीन बैठकमा म्यान्मारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउने प्रस्तावलाई चीनले अस्वीकार गरिदिएको छ ।

सैनिक नेतामाथि प्रतिबन्ध लगाउने कदमले तनाव बढाउने काम मात्र गर्ने राष्ट्रसङ्घका लागि चिनियाँ दूतले दाबी गर्दै प्रस्ताव अस्विकार गरेका हुन् ।

यसअघि म्यान्मारका लागि राष्ट्रसङ्घकी विशेष दूतले आवश्यक कदम चाल्न सुरक्षा परिषद्‌लाई आग्रह गरेकी थिइन् ।

कूविरुद्ध जारी प्रदर्शनमाथि सेनाले गरिरहेको दमनबीच उनले म्यान्मारमा रक्तपात तथा सम्भावित गृहयुद्धको खतरा औँल्याएकी थिइन् ।

हिंसाको निन्दा

अधिकारकर्मीहरूका अनुसार सैन्य कू गरिएको दुई महिनाभित्र पाँच सयभन्दा बढी प्रदर्शनकारी सुरक्षाकर्मीबाट मारिएका छन् ।

गत शनिवार एकैदिन सय जनाभन्दा बढी प्रदर्शनकारी सुरक्षाकर्मीबाट मारिएपछि ब्रिटेनको आग्रहमा सुरक्षा परिषद्‌को आपत्‌कालीन बैठक डाकिएको थियो ।

शनिवारको घटनालाई लिएर विश्वभरिबाट म्यान्मारको सेनाको चर्को आलोचना भएको थियो ।

यूकेसहित एक दर्जन देशका रक्षा प्रमुखहरूले एउटा विरल संयुक्त वक्तव्य जारी गर्दै सेनाको हिंसात्मक कदमको निन्दा गरेका थिए ।

वक्तव्यमा भनिएको थियो, "व्यावसायिक सेनाले संहितासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई अनुसरण गर्छ र आफूले सेवा गर्ने जनतालाई क्षति पुर्‍याउन नभई सुरक्षा दिन जिम्मेवार हुन्छ ।"

शनिवार सुरक्षा फौजहरूले म्यान्मारका ४० भन्दा बढी स्थानमा गोली चलाएका थिए ।

"सेनाले केहीको सेवा गर्न थुप्रैको ज्यान लिइरहेको" अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आरोप लगाएका थिए ।

ब्रिटिश विदेशमन्त्री डोमिनिक राबले म्यान्मारको अवस्था "न्यून बिन्दु" मा पुगेको बताएका थिए ।

आमनिर्वाचनमा नेत्री आङ्ग सान सूचीको न्याश्नल लीग फर डेमोक्र्यासीले बहुमत ल्याएपछि चुनावमा धाँधली भएको भन्दै सेनाले गत फेब्रुअरीमा सत्ता हातमा लिएको थियो ।

सन् २०११ मा प्रजातान्त्रिक सुधारअघिसम्म बर्मा भनेर परिचित म्यान्मारमा सेनाले शासन गर्दै आएको थियो । विविसी ।

Back to top