×

वीरगञ्ज । बाराको फेटा गाउँपालिका वडा नम्बर १ भलुहीमा सञ्चालित बगैचा कटेज एण्ड रिसोर्टका सञ्चालक अनिल कुमार कुश्वाहासँग यात्रा डेलीका प्रबन्ध निर्देशक राम सर्राफले गरेको कुराकानी । 

मानिसहरुले प्राय बजार क्षेत्रमा लगानी गर्छन्, तपाई चाही ग्रामिण क्षेत्रमा लगानी गर्दा लगानी डुब्ला कि भन्ने चिन्ता लागेन ? 

अत्यन्तै राम्रो प्रश्न सोध्नुभयो । प्रायले मसँग यही जिज्ञासा गरीराख्छन् । आज यो जिज्ञासाको जवाफ हजुरमार्फत सबैलाई दिन चाहन्छु । शुरुमा पक्कै पनि चुनौति थियो । लगानी गर्न खोज्दा केही हदसम्म भएपनि हिचकिचाएकै थिए । तर पछि सोचे जहाँ चुनौती छ त्याहाँ अवसर पनि त छ । त्यसैले बिना हिचकिचावट लगभग ३० लाख रुपैयाँ लगानी गरे । शुरुमा जंगल जस्तै घाँसैघाँसले भरिएको १७ कट्ठा जग्गामा कामको थालनी गरियो । अहिले त्यसकै परिणामस्वरुप यहाँको स्वरुप फेरिएको छ । र आगामी दिनमा अँझै लगानी बढाउँदै लैजाने र थप विकासका कामहरु गर्दै जाने योजना पनि छ । 

तपाईले गरेको लगानी र मेहनत त यस रिसोर्टलाई हेर्ने वित्तिकै झल्किन्छ । तर यहाँ आउने बाह्य तथा आन्तरिक पर्यटकहरु लगायतले खान तथा बस्नका लागी बगैँचा कटेज एण्ड रिसोर्टलाई नै किन रोज्ने ? 

यस बाराको फेटा गाउपालिकाको भलुही क्षेत्रमा सेवा सुविधायुक्त होटेलहरु छैनन् । फलस्वरुप नभएकोे ठाउँमा व्यवस्थित तरिकाले ग्राहकहरुलाई आकर्षित गर्ने किसिमको व्यवस्था गर्न सके ढुक्कले चलाउन सकिन्छ भन्ने आत्मविश्वास छ । सव्रप्रथम यो रिसोर्ट शान्त अनि मनोरम वातावरणमा छ । शहरको कोलाहलभन्दा टाढा छ । हेर्दा पनि आनन्दित छ भने सस्तो अनि सर्वसुलभका साथै गुणस्तरीय सेवा हामी प्रदान गर्छाै । यसका साथै हामीले समुदायबाट  लोप हुँदै गएका खानाका परिकारहरु पनि बनाउने योजना बनाएका छौँ । अहिले भने हाँस, परेवा, बटै, माछा, घोँगी लगायतका विभिन्न परिकारहरु पनि उपलब्ध छन् । यहाँ साना साना फुसका कटेजहरु पनि बनाइएको छ । जसले ग्राहकको मन लोभ्याउन सक्छ भन्ने विश्वास लिएका छौँ । अनि पोखरी छ । पोखरीमा ताजा माछाहरु पनि पालेका छौँ । प्रोजेक्टरसहितको सभागृह तथा बैठक कक्ष पनि बनाएका छौँ । पछि गएर विवाह, वर्तबन्ध लगायतको लागी पार्टी प्यालेस बनाउने पनि हाम्रो लक्ष्य छ ।  


शुरुमा रिसोर्ट खोल्न पनि सपना देख्नुभयो र अहिले साकार रुप लिएको छ । तसर्थ आगामी दिनमा पार्टी प्यालेस बनाउने सपनाले पनि सार्थकता लिओस् यात्रा डेलीको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौ । अब अर्काे एउटा जान्न मन लागेको प्रश्न के भन्दा तपाईले लगानी गरेर स्वालम्बी तथा आत्मनिर्भर बन्नुभयो । यसका साथै रोजगारीको सृजना पनि गर्नुभयो । अहिले कतिजनालाई हजुरले रोजगार दिनुभयो ? 

शुभेच्छाका  लागी हार्दिक आभार हजुर लगायत सम्पूर्ण यात्रा डेली परिवारप्रति । अहिले प्राय नेपालीहरु विदेशिने क्रम छ । नेपालमा बेरोजगारीको समस्या बिकराल रुपमा फैलिएको छ । यस अर्थमा पनि विदेशप्रतिको मोह बढ्दो छ भनम् । तर लगानी गर्न सक्नेहरुले त केही गर्लान तर लगानी पनि गर्न नसक्नेहरुले के गर्ने ? हो यस्तै खालका समस्याहरुको समाधान गर्ने पनि मेरो पहल हो । हाल मेरो रिसोर्टमा ८ जनाले प्रत्यक्ष रुपमा रोजगार पाएका छन् । उनिहरुको परिश्रम र पारिश्रमिकबाट ८ जनाको परिवार पालिएको छ । अँझै आगामी दिनमा अरुलाई पनि रोजगार दिलाउने छु । किनभने रिसोर्टलाई अँझै परिमार्जित तथा परिस्कृत गर्दै जाने सोचअनुरुप पक्कै पनि जनशक्तिको आवश्यक्ता पर्छ । त्यसैले रोजगारीको सृजना बढ्छ । धेरैले रोजगारी पाउँछन् । यसमा कुनै शंका छैन । 

अब अन्त्यमा यदि कोही वीरगञ्जबाट यहाँ आउन चाहन्छन् भने कसरी आउन सकिन्छ ? 

यदि जो कोही पनि हाम्रो बगैँचा कटेज एण्ड रिसोर्टमा आउन चाहनुहुन्छ भने हामी न्यानो आथित्यता र गुणस्तरिय सेवाका लागी हर्दम प्रतिबद्ध रहनेछौ । तपाईहरुको उद्गमस्थल वीरगञ्ज छ भने त्याँहाबाट प्रतिमा चौकमा आउन सक्नुहुन्छ । त्याहाँदेखि ठाउँ ठाउँमा बोर्ड लगाएको हुँदा आवन असहज पक्कै पनि हुँदैन । बाराको भलुही चौकदेखी १ सय मिटर दक्षिणतिर तपाईको गन्तव्य पुग्ने छ । 


हस् यात्रा डेलीको लागी दिनुभएको समय र संवादको लागी हार्दिक आभार । 

हामीले सञ्चालन गरेको रिसोर्टको सेवा सुविधाको बारेमा तपाईको लोकप्रिय अनलाईनमा समावेश गर्ने अवसर प्रदान गर्नुभएकोमा हजुरलाई पनि धेरै धेरै धन्यवाद । 

Back to top