×

वीरगञ्ज, ११ चैत । पर्साको ठोरी गाउँपालिकामा देशकै नमुना दलित सङ्ग्राहलयको शिलान्यास गरिएको छ । 

दलित विकास केन्द्र ठोरीको पहलमा ठोरी गाउँपालिकाले बोर्ड बैठकबाटै पारित गरेर सङ्ग्राहलय निर्माणका लागी चालु आर्थीक वर्षमा ५ लाख रुपैया बिनियोजन गरिएको छ । हरेक आर्थीक वर्षमा दुई गुण बजेट थप्ने गरी अहिले जगको काम बुधवारबाट थालनी गरिएको छ । 

गाउँपालिकाको वडा नम्बर ४ आठघरेमा लगभग ४ कट्ठा क्षेत्रफल जग्गामा निर्माण गरिने सङ्ग्राहलयको बुधवार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष पिएल श्रेष्ठले शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले सङ्ग्राहलय निर्माणले दलितहरुको इतिहास अध्ययन गर्ने र पुरातात्विक वस्तुहरुको संकलन गरिने बताए । उक्त योजनाले गाउँपालिकामा देशका विभिन्न स्थानबाट पर्यटकहरु भित्र्याउन सकिने र आयआर्जन गर्न सकिने हुँदा अहिले गाउँपालिकाले लगानी गरेको बताए । 

दलित विकास केन्द्र ठोरीका अध्यक्ष गगन सुनारले सङ्ग्राहलयभित्र विभिन्न आन्दोलनमा ज्यानको आहुति दिएका दलित शहिदहरुको शालिक निर्माण, देशकै सबैभन्दा उचाईको २० फिट उचाईको खुकुरी निर्माण गरिने, दलितहरुले प्रयोग गर्ने पूराना ऐतिहासिक औजार तथा वस्तुहरु, भाठी, सारङ्गी, सनासो लगायतको संरक्षण र प्रवद्र्धन गर्न सङ्ग्राहलयले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे । 

शिलान्यास कार्यक्रममा केन्द्रका सचिब बिरबहादुर गन्धर्वले स्वागत मन्तव्य राखेका थिए । कार्यत्रममा केन्द्रका सल्लाहाकार दलित अगुवा हरी बहादुर सोनार, लालबहादुर सुनार, अमृत नेपाली, रक्की विश्वकर्मा, रोशन धनुके, वडा न. ४ निर्मलवस्तीकी दलित वडा सदस्य धनकुमारी विश्वकर्मा लगायतको सहभागिता रहेको थियो । 
 

Back to top