वीरगञ्ज, ११ चैत । नेपालमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गए सङ्क्रमणको चेनलाई ब्रेक गर्न लकडाउन लगाउने अवस्थापनि आउनसक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।
स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने नियमित मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका सह-प्रवक्ता डा.समीरकुमार अधिकारीले लकडाउन गर्नु सरकारको उद्देश्य नभएपनि परिस्थिति आए सङ्क्रमणको चेन ब्रेक गर्न लकडाउन लगाउन सकिने बताए ।
उनले भने, ‘लडकाउन गर्नु नेपाल सरकारको उद्देश्य होइन तर सरकारले परिस्थित अनुसार नीतिगत निर्णय गरेर संक्रमणको चेन रोक्नुपर्ने हुन्छ र संक्रमणलाई भयावह रुपमा फैलिन नदिन सजग हुनुपर्छ ।’
उनले अनावश्यक भिडभाड बढ्दा, भौतिक दूरीको नियमहरु पालन नहुँदा र अन्य स्वास्थ्य सुरक्षा मापदण्डहरु राम्ररी पालना नहुँदा सङ्क्रमितहरुको संख्या बढ्दै गएमा चिन्तासमेत व्यक्त गरे ।
उनले आउँदै गरेको होली घरमै बसेर मनाउन र अनावश्यक भिडभाड नगर्न आग्रह गरेका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपाल फर्किनेको भिडभाड बढेको देखिन्छ ।
मन्त्रालयले नाकामा आवश्यक सुरक्षा अपनाउन र हेल्थ डेस्कलाई सक्रिय रुपमा सञ्चालन गर्न तथा नेपाल प्रवेश गर्ने व्यक्तिलाई मास्क उपलब्ध गराउन निर्देशन दिएको छ ।