फाइल तस्विर ।
वीरगञ्ज, ११ चैत । पर्सामा ३ लाखको धान बोकेको ट्रकबाट सशस्त्र प्रहरीले १ करोड १९ लाख रुपैयाँ बराबरको तस्करीको कपडा बरामद गरेको छ ।
भन्सार छलेर धान बोक्ने ट्रकमा लुकाइछिपाई भारतबाट वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) को बाटो हुँदै काठमाडौँ लग्न खोजिरहेको अवस्थामा बीआर ०६ जीबी ४१५६ नम्बरको भारतीय ट्रकबाट सशस्त्र प्रहरी उक्त रकम बराबरको कपडा बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा मंगलबार आईसीपीबाट जाँच पास गरेर बाहिर निस्केको ट्रकलाई वीरगञ्जको ड्राईपोर्ट नजिकै रोकेर सशस्त्र प्रहरीले चेकजाँच गर्दा धानको बोरामुनि लुकाएर राखिरहेको कपडा बरामद गरिएको थियो । प्रहरीले ट्रक चालक भारतीय नागरिक सुनिल यादवलाई पनि पक्राउ गरेको छ ।
ट्रकमा माथि दुई लेयर धानको बोरा राखेर तल ९३ वटा बोरामा लुकाएर सटिङ सुटिङ, कुर्ता सलवार, सारी, लहङ्गा, प्लाजो, टिसर्ट, पेन्टलगायतका कपडा फेला परेको सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्साले जनाएको छ । कपडासहितको ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको छ ।
वीरगञ्ज रमगढवाका दीपेन्द्र प्रसाद कलवारको नाममा दर्ता भएको तिरुपति खाद्यान्न तथा भूसा सप्लायर्सको नाममा रहेको भन्सार प्रज्ञापनपत्रले आएको धान बोकेको ट्रकबाट उक्त मात्रामा कपडा बरामद गरिएको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र खड्काले बताए ।
प्रज्ञापनपत्रमा ५ सय ५० बोरा धान उल्लेख भए पनि जाँच गर्दा ३ सय बोरा धान बरामद भएको एसपी खड्काले जानकारी दिए ।
राजश्व अनुसन्धान कार्यालय पथलैयाले कपडाको १ करोड ५ लाख र भ्याटसहित १ करोड १९ लाख, ट्रकको ३० लाख र धानको ३ लाख गरी बरामद गरिएको सम्पूर्ण सामग्रीको १ करोड ३८ लाख मुल्यांकन गरेको छ ।