×

वीरगञ्ज, ११ चैत । नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा सदस्यता नपाएका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले तालाबन्दी गरेका छन् । 

नजिकिदै गरेको निर्वाचनको मुखमा क्रियाशिल पत्रकारहरुलाई पाखा लगाएर आफ्ना नजिकका नातेदारहरुलाई सदस्यता वितरण गरेको आरोप लगाउँदै उनिहरुले तालाबन्दी गरेका हुन् । सदस्यता वितरणमा विभेद गर्नुका साथै सक्रिय पत्रकारहरुको मनोवल गिराई अन्य पेशामा आवद्ध भएकाहरुलाई वितरण गरेको भन्दै विरोधमा उत्रिएका पत्रकारहरुले आपत्ति जनाएका छन् । 

सक्रिय पत्रकारहरुको मापदण्ड सबै पुगेपनि सदस्यताबाट वञ्चित गराइएको र आफ्ना नातेदारहरुको मापदण्ड नपुगेपनि सदस्यता वितरण गरेको उनिहरुको आरोप छ । पुनः स्वच्छ तथा निष्पक्ष रुपमा पत्रकारिता पेशामा आवद्ध क्रियाशिल पत्रकारहरुलाई सदस्यता दिलाउनुपर्ने मागको सम्बोधन नभएसम्म ताला नखोलिने नेपालपोस्ट डेलीका सम्पादक अशोक सङ्ग्रौलाले बताए । 

पत्रकार महासंघलाई पार्टीको भर्ती केन्द्र जस्तै बनाएर गैरपत्रकारलाई सदस्यता दिएर श्रमजिवि पत्रकारलाई वेवास्ता गर्ने प्रवृतिको विरोधमा तालाबन्दी गरिएको यात्रा डेलीका आसु सर्राफको भनाई छ । सदस्यता वितरणलाई पारदर्शिता बनाउनुका साथै महासंघलाई पत्रकारको मात्रै संगठनको रुपमा स्थापित गरी राजनितिकरणबाट टाढा राख्नुपर्ने सर्राफले बताए । 

क्रियाशिल सदस्यहरुलाई सदस्यताबाट वञ्चित गराएर भोट पाउने आशमा आफ्ना नजिकका नातेदारलाई सदस्यता वितरण गरी समग्र पत्रकारिता पेशालाई नै बदनाम गराउने कार्य सह्य नहुने मिरमिरे अनलाईका प्रदेश २ प्रमुख  दिपक चौरसियाले बताए । 

विरोधमा अशोक सङ्ग्रौला, आसु सर्राफ, दिपक चौरसिया, निखिल वर्णवाल, रन्जित चौरसिया, उमेश दुवे लगायतका पत्रकार सहभागी भएपनि सामाजिक सञ्जालमार्फत अन्य पत्रकारका साथै सामाजिक अभियानताहरुले पनि ऐक्यबद्धता जनाएका छन् । 
 

Back to top