×

वीरगञ्ज । दुई वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार ४ वर्ष बितिसक्दा पनि पूरा हुन सकेन । पटकपटक थपिएको समयसीमा सकिए पनि आयोजनाको म्याद बढाएर आगामी वर्षको साउनसम्म पुर्‍याइएको छ ।

कोरोना महामारीलाई कारण देखाएर सबै आयोजनाले थप ६ महीना म्याद पाएका छन् । महामारीले विकास निर्माण प्रभावित भएको भन्दै सरकारले म्याद थप्ने निर्णय गरेपछि व्यापरिक मार्गको काम आउँदो आर्थिक वर्ष २०७८/७९ को साउनसम्म कायम भएको छ ।

वीरगञ्ज एकीकृत जाँच चौकी (आईसीपी) को सम्पर्क सडकदेखि पथलैयासम्मको २८ किलोमीटर सडक ६ खण्डमा बाँडेर चारओटा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ । २०७३ असारमा कार्यादेश पाएका ठेकेदारले अहिलेसम्म काम पूरा गरेका छैनन् ।

दुई वर्षभित्र व्यापारिक मार्ग पूरा गर्ने लक्ष्य राखिकोमा त्यति नै समय थप्दा पनि काम नसकिएपछि गत पुससम्मका लागि पुनः म्याद थपिएको थियो । पछिल्लोपटक कोरोना महामारी म्याद थपको बहाना बने पनि यसअघि विभिन्न कारण देखाएर समय बढाइएको थियो ।

आउँदो असारदेखि साउनसम्ममा योजना पूरा हुने गरी म्याद थपिएको योजना प्रमुख मनीषकुमार साहले जानकारी दिए । अहिलेसम्म आयोजनाको समग्र प्रगति ७५ प्रतिशत पुगेको प्रमुख साहले बताए ।

‘कोरोना महामारीका कारण काम अवरुद्ध भएकाले सबै आयोजनालाई ६ महीना समय थप्ने निर्णयअनुसार आगामी वर्षको साउनसम्म पुर्‍याइएको छ । यो समयभित्र विस्तारको अधिकांश काम सकिन्छ,’ प्रमुख साहले भने ।

थपिएको पछिल्लो समयभित्र सडकको रङरोगन र सौन्दर्यीकरणबाहेका मुख्य निर्माण सकिने योजना प्रमुख साहको दाबी छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा म्याद थप्ने निर्णय पर्खिएको १९ नम्बर ठेक्काबाहेक अन्यको थप म्याद स्वीकृत भइसकेको आयोजनाले बताएको छ ।

शुरूमा वीरगञ्ज सुक्खा बन्दरगाहदेखि पथलैयासम्म ६ लेनको व्यापारिक मार्ग थालिएको थियो । विभिन्न स्थानमा सडक र पुलको काम थपिएको छ । परवानीपुर–गण्डक सडकलाई पनि यही योजनामा राखिएको छ ।

व्यापारिक मार्गको जितजुर खण्डको निर्माण अति सुस्त देखिएको साहले बताए । शर्मा, युनाइटेड र दिवाले साझेदारीमा लिएको यो खण्डलाई आयोजनाले सबैभन्दा समस्याग्रस्त ठेक्का मानेको छ । निर्माण कम्पनीको ढिलासुस्तीले कामले गति लिन नसकेको योजना प्रमुख साहको भनाइ छ ।

स्थानीय अवरोध, निर्माण कम्पनीहरूको ढिलासुस्ती र भुक्तानीमा ढिलाइले आयोजना पछि धकेलिएको हो । बेलाबेलामा आयोजना क्षेत्रमा पर्ने उद्योग कलकारखाना पनि अवरोधको कारण बनेको अनुभव आयोजनाका अधिकारीहरूको छ ।

कस्तो बन्छ व्यापारिक मार्ग ?
व्यापारिक मार्ग ५० मीटर फराकिलो बनाइँदै छ । सडकको बीचबाट ११÷११ मीटर दायाँबायाँ ६ लेनको मुख्य सडक निर्माण हुनेछ ।

दुवैतर्फ साढे ३ मीटरको ग्रीन बेल्ट र साढे ५ मीटरमा दुईतर्फी सर्भिस लेन बनाइनेछ । सर्भिस लेनभन्दा पछाडि दुवै किनारमा साढे ३ मीटरमा नाली र फूटपाथ निर्माण भइरहेको छ । पारवानीपुरदेखि गण्डकसम्मको २ लेनमा सञ्चालन भइरहेको त्रिभुवन राजपथ खण्डलाई ४ लेन बनाइनेछ ।

Back to top