खेमलाल पहारी
बुवाको मृत्यु हुँदा प्रभाकर मुठिभरिका थिए । नेपाली सेनाका सहायक सेनानी उनका बुवाले रातदिन दुखजेलो गरेर आफ्ना सन्तानलाई देशको एउटा होनहार नागरिक बनाउने सपना बोकेका थिए । विधिको बिधान मृत्यु सत्यलाई कसैले पनि टार्न सक्दो रहेनछ त्यसैले त एक हप्ताको ज्वरोसँग पैंठेजोरी खेल्दा खेल्दै उनले आफ्नी धर्मपत्नीलाई गहभरी हेरेर उनको तश्वीर आँखामा सजाएर लामो सास लिंदै परेला ढपक्क बन्द गरे र चीर निद्रामा लीन भए । काखका लालाबालालाई आफ्ना जनकको अनन्तको यात्राको बारेमा यस्तो लागेको हुँदो हो मानौं बाबा शान्तिसेनाको जिम्मेवारी सम्हालेर कुनै अफ्रिकी राज्य जानुभएको छ र साथमा नयाँ कपडा र थरि थरि मिठाईं अनि खेलौना लिएर छिट्टै फर्कनुहुनेछ । तर प्रभाकरको जीवनमा यो पल दोहोरिएर फेरि कहिल्यै आएन । बाबुको बाटो हेर्दा हेर्दै उनि र उनकी बहिनी शशीले विद्यालयको शिक्षा पुरा गरे र यिनैलाई सम्हाल्दैमा आमाले पनि बादल जस्तो केशराशीमा क्रमश काँसका फूल सिउरिंदै सिउरिंदै गईन् ।
गुणस्तरीय प्रारम्भिक शिक्षा लिन आमा र बहिनीको साथमा पहिलोपटक गाउँको घर छोड्दा प्रभाकरलाई बिदा दिंदै गर्दा उनका हजुरबा । आमाले आफ्ना नाति नातिनीको शिरमा हात राख्दै भनेका थिए, सक्षम बन्नु, सफल बन्नु, सबैको आशाको किरण बन्नु आफ्ना मातापिताको सपना साकार पार्नु । हामीलाई तिमीहरूप्रति सदा गर्व महशुस होओस् । हुनपनि सहरको एउटा नामुद शिक्षालयमा दुई दाजु बहिनी दाखिला भए । जिज्ञासु, सरल, अनुशासित, निडर, अनि अध्ययनशील त्यसैले पनि नयाँ वातावरणमा साथी बनाउन, सबैसँग हेलमेल हुन उनीहरुलाई कुनै मुहूर्त कुर्नु परेन । लगनशीलताका प्रतिमूर्ति शशी र प्रभाकर आआफ्नो कक्षामा सक्रियताकासाथ पठनपाठन कार्यमा संलग्न हुन्थे । उनीहरू भोलिपल्ट पढाई हुने सबै विषयका पाठहरू दोहर्याएर तेहर्याएर पढेर आउँथे र कक्षामा नबुझेका वा चित्त नबुझेका पाठहरूमा खुलेर बहस गर्दथे । पहिलो त्रैमाषिक परीक्षामै प्रभाकार अरुलाई उछिनेर अब्बल दर्जामा आफ्नो नाम दर्ता गराउन सफल भए । यता शशीले पनि आफ्नो कक्षामा आफुलाई अग्रपंतिमै उभ्याउन सफल भईन् ।
प्रभाकरले विद्यालयमा कहिल्यै पनि दोश्रो स्थानमा रहेर चित्त बुझाउनु परेन । दश जोड दुईको अध्ययनमा पनि दुवै दाजु बहिनी आआफ्नो समुहमा अनुकरणीय एवम् उदाहरणीय व्यक्ति बनेरै रहे । बाह्र कक्षाको समाप्तिपछि शशीले नर्सिंग पेशामा संलग्न भएर आफुलाई देश र समाजको सेवामा समर्पित गरिन् भने प्रभाकरले सरकारी चिकित्शाशास्त्र अध्ययन संस्थानमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भए।एउटा कुशल स्वास्थकर्मी बन्ने महान अभिलाषा लिएर अध्ययन संस्थानको प्रवेशद्वारमा पाइला टेकेका प्रभाकर विदाका समयमा पनि बिरलै घर आउँथे र एक दुई दिनमै लौन मेरो त संसारै डुब्यो भन्दै फर्किइहाल्थे ।
एक समयको कुरा होस केही दिनको घर बिदामा आएका प्रभाकरले अध्ययनमा फर्केर जाने कुनै सुरसार गरेनन्।आमाले कुरा कोट्याइहाले पनि उनी केहि न केहि भनेर टार्न खोज्दथे । छोराको यो व्यवहारले आमाको मनमा चिसी पस्नु स्वाभाविकै थियो । उनले आफु सानी बहिनी हुँ झैं गरि बारम्बार जिज्ञासा राखिन् र उसले केहि न केहि बहाना बनाएर टारि नै रह्यो । एकदिन आमा गुन्द्रीमा बसेर सुँक्क सुँक्क रोइरहेकी देख्यो उसले र आएर उनको काखमा शिर अड्याएर भुईंमा लम्पसार परेर उसले भन्यो, ‘आमा, म एम् बी बी एस् वाला डाक्टर बन्दिन।आमा केहि बोल्न सकिनन् । उनको डाँको गलामा आएर अड्कियो । आफ्नो कुराले आमालाई असह्य पीडा भएकोछ भन्ने उसले सहजै बुझेको थियो । तर उसले आमालाई सबैकुरा भन्न चाहेन।एकदिन आमाले नै छोरासँग उनको मनको बह पोख्न अनुरोध गरिन् । उसले यत्ति भन्यो, आमा, म घोकेर प्रथम भएको हुँ र अर्काको कुरामा होमा हो मिलाएर बोल्ने छोरा हुँ र हैन नि आमा । म त आफ्नो मन मष्तिस्कले ठिक मानेको कुरा सुन्ने र बुझ्ने विद्यार्थी हुँ।यो चिकित्सक पेशाको तयारी गर्दै गर्दा मैले महशुस गरेंकि मलाई मान्छेबाट एउटा रटन्ते यन्त्र बनाइन लागिएको रहेछ मानवीय संवेदना हीन – मात्र एउटा यन्त्र मानव।मलाई चिकित्सक बनाउन आउने मेरा गुरुहरूले मलाई पाठ बुझ्नभन्दा घोक्न प्रेरित गर्नुभयो । मैले प्रतिप्रश्न गर्दा झनक्क रिसाउने प्रोफेसरबाट मैले के सिक्न सकुँला आमा मलाई लाग्दैछ म व्यर्थमा समय नष्ट गरिरहेछु । “त्यसोभए अब कसैले पनि यो पेशातिर लाग्नु हुँदैन त बाबु” आमाका आँखामा टिलपिल टिलपिल गरिरहेका ममताका नाजुक लवड ढिक्का बनेर आँखाको कोषबाट गुडुल्किंदै गालामा द्रवित भएर भेल बग्दै छोराको निधारमा तप्प तप्प तपतपाउन थाले।जसले प्रभाकरको अन्तस्करणको ज्वरो मन्द भएको उसले महशुस गर्यो । “जसरी कुनै एउटा हाँगामा फुलेका फूल र लागेका फलहरु भिन्दा भिन्दै रङ्, र आकारका हुन्छन् त्यसै गरि मानिसको पनि वैयक्तिक गुण फरक फरक हुन्छ, बुढीमाउ”, उसले आमाको आँखा पुछ्दै जवाफ दियो । “त्यसोभए तेरो मनले खाएको त्यस्तो कुन विषय हो भन् न त”, आमाले उसको कपाल मुसार्दै सोधिन् । “आमा, म बाणिज्यशास्त्र पढ्छु त्यसमा म आफ्नोपन प्रयोग गर्न सक्छु । यो विषय सैद्दान्तिक भन्दा धेरै व्यवहारिक हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा यो विषय पढेर मैले यान्त्रिक मानव बन्नु पर्दैन म मान्छे भएरै मान्छेहरूको संगतमा रहन्छु।अझै ठुलो कुरा म जीवनमा आफ्नै केही उद्यम गरौँ भनेर लागिपर्ने साहसिहरूको माझमा रहन्छु ।” आमाले के बुझिन, छोराले के बुझाउन सकेन आउँदा केहिदिन उसको घरमा उसलाई सम्झाउन आउने परामर्शदाताहरूको उल्लेख्य उपस्थिति रह्यो।तर प्रभाकरले मन बनाइ सकेको थियो।हेराउने, चराउने, रुनेकराउने, सम्झाउने, धम्क्याउने सबैलाई उसले राम्ररी पढाएर पठायो ।
त्यसपछिका झण्डै छ वर्ष प्रभाकरकालागि निकै चुनौतीपूर्ण थिए।उसले भन्नेहरूको मुख टाल्नु थियो, आमाको आँशु पुछ्नु थियो र आफ्नो भविष्यको मार्ग प्रशस्त गर्नु थियो र यसमा उसले कुनै कसर बाँकी राखेन । बाणिज्यशास्त्रमा देशमै उत्कृष्ट मानिदै आएको राजधानीको चर्चित शिक्षालयमा स्नातक तहमा भर्ना भएर अध्ययन सुरुवात गरेसँगै प्रभाकरले अनुभव गर्योकि उसले बाणिज्यशास्त्रको अध्ययन सुरु गरेर आफुमाथि ठुलो अन्याय हुनबाट जोगाएको रहेछ।विद्यालय शिक्षामा जस्तै आफ्ना प्रोफेशरहरूसँग छलफल गर्दै अध्ययन गर्दा उसलाई असिम आनन्द प्राप्त हुन्थ्यो।जब ऊ बाणिज्यका बिभिन्न आयामहरूमा आफ्ना गुरुहरुको अगाडि आफ्ना तर्कहरू पस्किन्थ्यो र सम्भावनाका पानाहरू पल्टाउँदथ्यो, गुरुहरु मुसुक्क मुस्काएर उसको पिठ्युँ थपथपाउनु हुन्थ्यो।यसले प्रभाकरमा एउटा भिन्दै उर्जा प्राप्त हुन्थ्यो ।
एकदिन आमालाई खबर भयो कि उसले स्नातक तहको परीक्षामा सगरमाथाको शिखरमा झण्डा फहराउन सफल भएछ।करेसामा तरकारीका बोट स्याहार्दा स्याहार्दै हातको कुटो फ्यात्त भुईंमा फ्यालेर बिपत्ता कुदेकी थिईन् उनकी आमा बरपिपलको चौतारोमा । “सुन्नुभयो हजुरले प्रभाले नेपाल टप्यो नि । मैले उसलाई हजुरको सपना पुरा गर्ने छोरा बनाउन सकिन तर उसले आफ्नै सपना पुरा गर्दैछ । छोराछोरीको सपना पनि हाम्रै सपना हैनर” क्षणभरमै टोलबासीले मिठो मुख गरेर उसकी आमालाई भने, “देख्यौ, छोराले डाक्टरी छोडेर मलाई जिउँदै जलायो भन्थ्यौ नि अब तिमीलाई डाक्टरकी आमा बन्नबाट कसैले रोक्न सक्दैन” आमाले माथिल्ला दाँतले ओठ टोकेर आफ्नो रुवाई बन्द गरेपनि नयनधाराभने अनवरत बगिनै रहे । हेर्दा हेर्दै प्रभाकरले स्नातकोत्तरको परीक्षामा पनि केटूमाथि पनि झण्डा फहरायो । लगत्तै टोलभरि प्रभाकरको नामको लड्डु वितरण भयो जब उसले सरकार स्वामित्वको कृषि विकास बैंकको अधिकृत पदको पदभार ग्रहण गर्यो।एकदिन प्रभाकरले आमालाई भन्यो, “आमा, मेरो बैंकमा के कस्ता नयाँ कार्यक्रम ल्याउने, कृषकहरुलाई बैंकको साथी कसरी बनाउन सकिन्छ, ऋण प्रवाह, नियमन र अशुली कसरी गर्ने आदि सबैकुरा आफ्नो मन मष्तिस्कले सुझ्याएको कुरा आफ्ना मातहतका सहकर्मीसँग समन्वय गरेर निर्धारण गर्दछु । कृषकहरुको आँगनमा आफै पुगिरहेकै हुन्छु।यसो गर्दा वहाँहरूलाई पनि स्वयम् बैंक नै हिंडेर आफ्नो घरमा आएको अनुभूति हुने रहेछ।साथै आफैले कृषकको मर्का, साधन श्रोत, योजना आदि बुझेर ऋण प्रवाह गर्दा आफ्नै हजुरबालाई काममा सहयोग गरेजस्तो आत्म सन्तुष्टि प्राप्त हुने रहेछ । छोराका ठुला ठुला कुरा सुनेर आमा दंग पर्थिन् तर पनि एउटा सफल चिकित्सक छोरा र बैंक प्रवन्धक छोरामा कुन ठुलो भन्ने छुट्याउने तराजुका पल्ला हल्लिइरहेकाले हर्ष र विस्मातको भुमरीमा उनी रुमल्लिइ रहिन् ।
केहि वर्षपछिको कुरा हो, प्रभाकर केहिदिनको बिदामा घर आउँदै छ भन्ने थाह पाएर आमा दंग थिईन् । उसलाई घरमा केहि न केहि त परिवर्तन देखाउनु पर्यो भन्ने सोच्दै उनी बजारतिर लागिन् । बजारको एउटा घरायसी सामग्री पसलमा पसेर उनले सरसर्ती नजर डुलाईन् ।सोचिन् छोरा घर आउँदा उसलाई एउटा कपडा धुने यन्त्र देखाऊँ । झण्डै पौने एकलाख पर्ने रहेछ उनलाई एउटी उत्तराधुनिक विद्युतीय बुहारी भित्र्याउन । उनका छोराभन्दा होचा कदका कर्मचारीले पनि यो रहर सजिलै पुरा गरेका थिए तर प्रभाकरकोलागि यो एउटा ठुलो कुरा हुन्छ भन्ने ठानेर उनले उक्त यन्त्रको रकम किस्ता किस्तामा भुक्तान गर्ने प्रश्ताव गरिन् । यो कुनै धर्मशाला हैन बहिनी, जानुस, अन्तै प्रयत्न गर्नुस्”, साहुजीको अधैर्यता प्रष्ट देखिन्थ्यो । मेरो छोरा राम्रै काम गर्छ, कमाएर तिर्ने हैसियत पनि राख्छ आज ऊ घर आउँदैछ, उसलाई छक्क पारौं भनेर हो, हुन्न नभन्नुस”, उनले एउटी आमाको विनयशीलता र ममताको पोको साहुजी समक्ष राखिन् । “अहिले कति दिनुहुन्छ” पसलेले उत्सुकतापूर्वक सोधे । आमाले थैलीबाट एउटा नयाँ हजारको नोट निकालिन् । “अहिले मसँग यत्ति छ ।” साहुजीले पुलुक्क उनको अनुहारमा हेरेर उल्टै प्रश्न गरे, “के तपाईंलाई म बाटोमा प्लास्टिकको डोरेमन, पोकेमन बेच्ने भारतीय जस्तो लाग्छु” आमाले घुटुक्क थुक निलिन्, एकक्षण केही बोलिनन् र बिस्तारै भनिन्, “तिन चार महिनामा तिर्नेगरी दिनुस् न, है” “अहिले तिस हजार दिनुस् बाँकी तिन महिना भित्रमा तिर्नुस्”, साहुजीले उपाय निकाले जुन आमालाई मान्य थिएन ।
बाहिर निस्किंदै गर्दा उनका आँखा ढोकैमा बसेकी सिप्लीकान वालीमा पर्यो । प्रभाकरलाई औधि मन पर्ने सिप्लीकानको तरकारी र सुक्कारोटी आफ्नै हातले नख्वाएको वर्षौं भएको थियो । गाउँसँगै छुटेको प्यारो सिप्ली आज छोरा आउने दिन आँखा अगाडि पर्दा आमालाई बहुमुल्य रत्न भेटेजस्तो लाग्यो । मुठोको पचासको दरले उनले दुईवटा मुठा सिप्ली किनिन्, मोलतोल पनि गरिनन्।सागवालीसँग हजारको खुद्रा रहेनछ र आमासँग अर्को नोट।आमालाई साह्रै फसाद पर्यो।आमाको हजारको नोटले कपडा धुने यन्त्र किन्न त सकेन सकेन उनको वर्षौंपछि छोरालाई रोटि र सिप्लिकानको तरकारी खुवाउने आशा पनि क्षीण हुन थाल्यो । आमाले यता उता अनुनयका नजर फिराईन्।कसैले वहाँको नोटलाई सानो बनाइ दिएन । निरासामा उनको आँखाबाट ममता छचल्कियो । “बर्षौंपछि घर आउँदै गरेको छोरालाई उसको मनपर्दो सिप्लिकान र रोटी खुवाऊँ भनेको मेरो भाग्यमा रहेनछ कि क्याहो एकछिन कुर्नु है बहिनी, म पैसा साटेर आउँछु भन्दै उनी पैसा साट्न यताउता लागिन् ।
आमा छिट्टै फर्केर आईन् र दुई मुठा सिप्लिकान लिएर बाटो लागिन् । थैलीमा राख्दै गरेको पैसा एक्कासी हावामा हल्लाउँदै सागवाली कराउन थाली, “ए, पख पख, यस्तो पलास्टिकको टालो हालेको पैसामा कसले दिन्छ यस्तो राम्रो मुन्टा कि राम्रो पैसा देऊ कि मेरो साग देऊ ।” सागवालीले आमाले दिएको नोट आमा आउँदै गरेतिर हुर्याईन् । “टालेकै भएपनि पैसा भनेको पैसा हो भन्दै आमाले नोट टिपेर धुलो झार्दै त्यसलाई पट्याएर दुवै आँखामा लगेर छोईन् अनि सागवालीलाई अर्को नोट दिईन् । ढोकाकै छेउमा काउन्टरमा बसेका एक युवाले आमालाई सोधे, “दिदी, अघि पैसालाई किन आँखामा लगेर टाँस्नु भएको जाँदा जाँदै टक्क रोकिएर उक्त पैसालाई ती युवातिर लम्काउँदै उनले भनिन्, “यो नोटको बिचमा हस्ताक्षर देख्नुभएको छ” “छु, गभर्नरको हस्ताक्षर नभएको नोट जालीनोट हुन्छ”, उनले उक्त नोट आमातिर फिर्ता गर्दै भने।पैसा समातेर मुसुक्क मुस्काउँदै आमाले भनिन्, “मेरो छोराले आज मसँगसँगै रोटी र सिप्लिकान खानेछ अनि यो पैसाको हस्ताक्षर पनि उसकै हो ।
आमा दृश्यबाट ओझेल हुँदासम्म विद्युतीय सामग्री पसलका साहुले हातमा एउटा नयाँ नोट लिएर ढोकामा उभिदै घरि आमालाई त घरि गभर्नरको हस्ताक्षरलाई हेरिरहेका थिए ।
यो कथा ती बहिनी तथा भाइहरू प्रति समर्पित छ जसले इन्जिनियर र डक्टर जस्ता प्राविधिक बन्दाबन्दै कारणबस वाणिज्यशास्त्रको अध्ययन गर्न अग्रसर हुनुहुन्छ र परिवारजन तथा आफन्तबाट आलोचित बन्नुहुन्छ तर धैर्य गर्नुस् लक्ष टाढा छैन।आवस्यकता छ तपाईंको लगन र परिश्रमको ।