×

वीरगञ्ज, २२ फागुन । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा न. १ मधुवन मथौवनमा आयोजित तेस्रो गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बारा ११ ले जितेको छ ।

वडा कार्यालयको आयोजनामा भएको प्रतियोगिताअन्र्तगत आज भएको फाइनल खेलमा पर्सा राईडर युथ कलबलाई १ गोलको अन्तरले ट्राइब्रेकरमा पराजित गर्दै बारा ११ ले उपाधि हात पारेको हो ।

निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा लम्बिएको थियो ।पेनाल्टी शटआउटमा पर्सा राइडर युथ क्लबले ३ र बारा ११ ले ४ गोल गरेका थिए ।

प्रतियोगिताको विजयी टिमले नगद १ लाख, शिल्ड र प्रमाण पत्र प्रदान गरिएको थियो भने उपविजेता पर्सा राइडर युथलाई नगद ५० हजारसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताका विजयी टिमलाई निलम्बित सांसद हरीनारायण रौनियारले पुरस्कार वितरण गरेका थिए ।

वडा न. १ का अधयक्ष विश्वनाथ पटवारीको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जैसवाल, उपाध्यक्ष फुलमती देवी चौधरी, नेपाल राष्ट्रिय माध्यामिक विदालय सिरही सथवलका प्रधानाध्यापक भागवत प्रसाद थारु, वडा न. १ का सचिब चन्द्रकिशोर पटेल लगायतको उपस्थिती रहेको थियो ।

Back to top