×

मुम्बई । रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानीको घरनजिकै बिहीबार शंकास्पद अवस्थामा स्कार्पियो जिप फेला परेपछि भारतमा यतिबेला सनसनी फैलिएको छ ।

मुम्बई अपराध शाखाको स्रोतका अनुसार स्कार्पियोमा जिलेटिनका साथै एउटा पत्र पनि फेला पारेको छ । जसमा लेखिएको छ– ‘मुकेश दाइ तथा नीता भाउजू ! यो त झलक मात्रै हो । अर्काेपटक यो सामान पूर्ण रूपमा जडान गरिनेछ । ओरिजिलन गाडीमा आउनेछ । तपाईंको सबै परिवार उडाउने योजना छ । सचेत रहनुस् ।’

जिपमा एउटा ब्याग पनि फेला परेको छ । जसमा मुम्बई इन्डियन्स लेखिएको छ ।

महराष्ट्र सरकारले घटना अनुसन्धानको जिम्मा मुम्बई अपराध शाखालाई दिएको छ । शाखाले घटना अनुसन्धानका लागि १० टोली बनाएको छ । अपराध शाखाले घटनााबारे ठूलो सूचना प्राप्त गरेको बताइएको छ । शुक्रबारदेखि एनआईएको टोलीले पनि अनुसन्धान गरिरहेको छ ।

शाखाका प्रमुख मिलिन्द भारम्बेले शुक्रबार दिएको जानकारीअनुसार स्कार्पियो जिपको पछाडि इनोभा गाडी पनि केही मिनेट रोकिएको थियो । जुन गाडी राति १ बजेर २० मिनेटमा ठाणेबाट प्रस्थान गरेको पाइएको छ । बाटो पर्ने प्रियदर्शिनी चोकनजिकबाट त्यो संदिग्ध स्कार्पियो जिप पनि साथै आएको अनुसन्धानबाट पत्ता लागेको छ ।

दुवै गाडी राति २ बजेर १८ मिनेट जाँदा मुकेश अम्बानीको घर नजिक रोकिए। स्कार्पियो त्यहीँ छाडियो भने त्यसका चालक ३–४ मिनेट पछि इनोभा गाडी लिएर त्यहाँबाट गए । इनोभा गाडीको नम्बरसमेत नक्कली पाइएको छ। 

स्कार्पियोका मालिक ठाणे निवासी व्यक्ति भएको पत्ता लागेको छ । घटना विवरणअनुसार उनी यही फेब्रुअरी १७ राति परिवारका साथ आफ्नो गाडीमा चढेर कुनै कार्यक्रममा जाँदै थिए । तर बीचमै गाडी बिग्रियो । त्यसपछि उनी गाडी त्यहीँ छाडेर अर्को ट्याक्सी चढेर गए । उनी जब फर्किएर आए तब उनको गाडी चोरी भइसकेको थियो । उनले प्रहरीमा उजुरी दिए। त्यस क्रममा चोरले उनको गाडीको नम्बर प्लेट नम्बर परिवर्तन गरिदए। इन्जिन र चेसिस नम्बरसमेत फेरे ।

फेरिएको नम्बर प्लेट मुकेश अम्बानीको प्रमुख गाडीसँग मिल्यो । अझ अचम्मको कुरा, चोरी गरिएको त्यो गाडीमा आधा दर्जन अवैधानिक नम्बर प्लेट पनि फेला परेका छन् । ती सबै अम्बानीकै कम्पनीका गाडीका नम्बरसँग मिलेका छ न्।

मुम्बई प्रहरीका अनुसार त्यस स्कार्पियो गाडीमा २१ थान जिलेटिन पनि फेला परेका हुन् । अपराध शाखाको स्रोतका अनुसार बरामद जिलेटिन १२५ ग्राम थियो । जुन विस्फोटमा प्रयोग गरिन्छ। त्यो पड्किएको भए गाडी नै ध्वस्त हुन्थ्यो । मुम्बई अपराध शाखाका प्रमुख मिलिन्द भारम्बेका अनुसार विस्फोटको प्रभाव ३० वर्ग फिटसम्म पर्छ । 

घटनाको अनुसन्धान जारी छ । नवभारत टाइम्सबाट

Back to top