×

बारा । जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बाराको कलैया उपमहानगरपालिका वडा न. ८ बरेवा टोलमा चेकजाँचको क्रममा भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया–७ निवासी ३५ वर्षीय चन्द्र शेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमारलाई प्रहरीले पक्राउ गरेको बारा प्रहरीले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।


बी आर ०५ के ०७९८ नम्बरको मोटरसाइकलको डिक्किमा लुकाएर ल्याउँदै गरेको अवस्थामा एक हजार दरका १,७७२ थान अर्थात १७ लाख ७२ हजार र ५०० रुपैयाँ दरका १,५२६ थान अर्थात ७ लाख ६३ हजार रुपैयाँ गरी २५ लाख ३५ हजार रुपैयाँ बरामद भएको बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिनुभयो ।

पक्राउ परेको दुवैजनालाई मोटरसाइकल र बरामद रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको यादबले बताउनुभयो ।

Back to top