×

वीरगन्ज । पर्सा जिल्लाको वीरगन्ज लगायत ग्रमिणभेगबाट पेट्रोलियम पदार्थको तस्करी बढ्दो छ ।


भारतमा पेट्रोलियम पदार्थको मूल्य नेपालको तुलनामा निकै महँगो भएको कारण सीमावर्ती भारतीय क्षेत्रमा अहिले पर्साबाट दिनहुँ पेट्रोल, डिजेलको तस्करी भइरहेको छ ।


विगत केही महीनादेखि पर्सा जिल्लाको वीरगन्ज लगायत जानकीटोला, भिस्वा, दसौता, पाँडेपुर, महादेवपट्टि, सुवर्णपुर, विजयबस्ती लगायतका स्थानबाट पेट्रोलियम पदार्थको तस्करी हुँदै आएको छ ।


यहाँबाट भारतीय बजार घुमाटार, भङ्गाहा, इनर्वा, मैनाटार र सिकटासम्म तस्करीमार्फत पेट्रोल र डिजेल जाने गरेको छ । भारतमा प्रतिलिटर पेट्रोल र डिजेल नेपालको तुलनामा रु २५ महँगो भएकोले सीमावर्ती क्षेत्रबाट पेट्रोलियम पदार्थको तस्करी बढेको हो । 


नेपाल आयल निगमबाट ग्रामीण क्षेत्रमा पर्याप्तरूपमा पेट्रोलियम पदार्थ पूर्ववत्रूपमा आपूर्ति हुँदै आए पनि अहिले तस्करीका कारण ग्रामीण क्षेत्रका केही पेट्रोलपम्पमा स्थानीयहरूले पेट्रोल, डिजेल नपाएको अवस्था छ । 


नेपाल आयल निगमले भने ग्रामीण क्षेत्रमा सहजरूपमा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै अँएको र कमी हुन नदिएको बताएको छ । स्थानीयले भने सहजरूपमा पेट्रोलियम पदार्थ पाउन नसकेको गुनासो गरेका छन् । उनीहरूले दैनिक कार्यको लागि मोटरसाइकल, ट्याक्टर र कृषिजन्य कामको लागि पेट्रोलियम पदार्थको सहज आपूर्ति नहुँदा समस्या भोग्नुपरेको बताएका छन ।

 
तस्करहरूबाट बढी मोल पाउने हुनाले पेट्रोलपम्प सञ्चालकहरूले उनीहरूलाई उपलब्ध गराउने हुँदा जिल्लाका सर्वसाधारणले अहिले पेट्रोलियम पदार्थको अभाव झेल्नुपरेको हो ।
 

Back to top