×

बिरगन्ज । मालपोत कार्यालय, पर्साले पोखरिया नगरपालिकामा रहेको करोडौं मूल्य पर्ने जग्गा अरूको नाममा नामसारी गरेको प्रमाण भेटिएको छ।


पोखरिया–४ बसपार्क छेउमा टाँसिएको  कित्ता नं. २८४, २८५ को ७ कठ्ठा जग्गा अनितादेवी घर्तीको नाममा २०७७/१०/२० गते पास गरेको बुझिएको छ। सो जग्गा कृषि कार्यालयको पर्खालदेखि पश्चिमपट्टि मुख्य बजारमा रहेको र केही भूमाफियाको सो जग्गामा आँखा लागेको स्रोतले बताएको छ। स्रोतका अनुसार भूमाफिया, मालपोत कर्मचारी, लेखनदासले मिलेमतो गरी निरक्षर बब्ली सिंहलाई सहीछाप गराएको देखिन्छ।


प्राप्त जानकारी अनुसार बब्ली सिंह र भरत सिंह दाजुभाइको संयुक्त नाममा रहेको र सो जग्गा अंशबण्डाको लागि निवेदन दर्ता गराएका थिए। तर भरत सिंहले दाइ बब्ली सिंहलाई अंशबण्डाको साटो उनको भागमा पर्ने साढे तीन कठ्ठा जग्गा र आफ्नो भागमा रहेको उत्तिकै जग्गा बुहारी अनितादेवी घर्तीको नाममा राजीनामा र बकसपत्र पास गरेपछि घटना बाहिरिएको हो।

 

अंशबण्डा गर्न पुगेका दाजुभाइलाई झुक्याई लेखनदास जादोलाल साह र अधिवक्ता अनिरुद्ध सिंहले मालपोत अधिकृत चन्द्रबहादुर कटुवालसँग मिलोमतोगरी जग्गा पास गरेको देखिन्छ।
मालपोत कार्यालयका अधिकृतलाई अंशबण्डा भएको बताएको तर कागजमा सो जग्गा राजीनामा पास गरेको देखिन्छ। सोही दिन घटना सार्वजनिक भएपछि पीडित बब्ली सिंहले तत्काल मालपोत कार्यालयबाट जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको र त्यही दिन जिल्ला प्रशासन कार्यालयले सो जग्गा यथास्थानमा राख्न पत्राचार गरेको देखिन्छ।


जिल्ला प्रशासन कार्यालयको पत्रको आधारमा कटुवाललगायत अन्य अधिकृतहरूले जग्गा तपाईंको नाममा जान्छ भनेर घर पठाएको तर पछि पुर्जासमेत बनाएको अवस्था छ। बब्ली सिंहको नागरिकता तथा पहिलेको पुर्जा आफूसँगै रहेको र पुर्जामा अहिलेसम्म रातो चिह्न लगाएको छैन, तर सो जग्गा कसरी पास भयो भन्ने विषयमा जिल्ला प्रशासन कार्यालयले अनुसन्धान शुरू गरेको छ।


बब्लीले दिएको निवेदनको आधारमा मालपोत कार्यालय पर्सामा पत्राचार गर्दै जग्गा पास गर्ने, गराउने लेखनदास, सहीछाप गर्ने अधिकृत तथा अन्य व्यक्तिहरूको नाम खुलाई र तत्काल सो जग्गा अरूको नाममा नामसारी गर्नु अघि वास्तविक जग्गाधनी बब्लीको रायविना पास नगर्न पत्राचार गरेको देखिन्छ।


यस विषयमा प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जिल्ला मालपोत कार्यालयको कर्तुतको कारण केही अधिकृतहरू अहिले कारागारमा रहेको र यस्तै घटना दोहोरिएको कारण पुनः दोषी अधिकृतहरूले पनि कारबाई भोग्नुपर्ने बताए।


जिप्रकाले सोही दिन पत्राचार गरे पनि पत्रको अवज्ञा गर्दै मालपोतका केही कर्मचारीहरूले बब्लीलाई झुक्याई अंशबन्डाको साटो राजीनामा पास गराएको घटनालाई आफूले तदारुकताका साथ अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रतिक्रिया दिए। आजको प्रतीक दैनिकमा खवर छ ।

Back to top