×

वीरगञ्ज । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सकिएसँगै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा रहन निर्देशन  दिइएकाे छ।

पछिल्लो समय चारवटै सुरक्षा निकायले राजधानी काठमाडौंको सुरक्षामा विशेष ध्यान दिएको छ। आउँदो शुक्रबारसम्म सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन: स्थापनाको आदेश वा विघटनलाई नै सदर सम्बन्धमा फैसला गर्ने बताइएको छ।

यस्तो समयमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा रहन निर्देशन छ। आफूहरुको विपक्षमा फैसला आए विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आन्दोलन गर्ने बताइसकेको छ। त्यस्तै प्रचण्ड–माधव समूहले पनि विघटनको पक्षमा फैसला आए आन्दोलन गर्ने बताउँदै आएको छ।

दुवै समूहले आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने खुलेआम बताउन थालेपछि राजधानीको सुरक्षामा नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरु ‘हाई हलर्ट’ मा छन्। प्रहरी मुख्यालयबाटै ‘हाई अलर्ट’ मा रहन निर्देशन आएको नेपाल प्रहरीका एक अधिकृतले जानकारी दिए।

‘पछिल्लो समय राजनीतिक उथलपुथल हुनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाउन भनिएको छ,’ ती अधिकृतले भने। उनले भने, ‘राजनीतिक रूपमा घटनाक्रम अस्वाभाविक रूपमा देखिन सक्छन्। यसका लागि हामी तयार छौँ। शान्ति सुरक्षामा असर नपरोस् भन्नेतर्फ सचेत छौँ।’

सरकारको सिफारिसमा गएको ५ पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन्। प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–माधव समूहका नेताहरुले ७ पुसमा सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। गत शुक्रबार प्रतिनिधिसभा विघटनबारे पक्ष–विपक्षको बहस सकिएको थियो।

Back to top