×

वीरगञ्ज । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा (अहिराज) लाई मुख्यमन्त्री लालबाबु राउतले आइतवार राति उनको कार्यालय पुगेर स्वागत गएका छन् ।

आइतवार पदभार ग्रहण गरेका प्रदेश प्रमुख झाको कार्यकक्षमै पुगेर मुख्यमन्त्री राउतले स्वागत गरेका हुन् ।

अनौपचारिक रुपमा प्रदेश प्रमुखको स्वागत बहिस्कार गरेको प्रदेश सरकारले उनको स्वागतमा जनकपुर विमानस्थलमा राज्यमन्त्री सरोज सिंंह कुशवाहालाई पठाएको थियो ।

मुख्यमन्त्री सहित प्रदेशका मन्त्रीहरु जनकपुर बाहिर रहेकाले उनको स्वागतमा विमानस्थलमा नपुगेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको भनाई छ ।

प्रदेश प्रमुख झाले यसअघि संघीयता विरोधी अभिव्यक्ति दिँदै आएको भन्दै प्रदेश सरकारले नवनियुक्त प्रदेश प्रमुख झाको विरोधसमेत गर्दै आएको छ ।

काम चलाउ तथा चुनावी सरकारलाई संवैधानिक तथा राजनैतिक नियुक्तिको अधिकार नभएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले जबर्जस्ती उनको नियक्ति गरेको मन्त्री यादवले बताए ।

निर्वतमान प्रदेश प्रमुख तिलक परियार आउँदा जनकपुर विमानस्थलमै पुगेर जसपा अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री लालबाबु राउत, मन्त्री तथा राज्यमन्त्री लगायतले भव्य स्वागत गरेका थिए ।

Back to top