×

वीरगञ्ज  । यातायात व्यवस्था कार्यालय वीरगञ्जले बितेको तीन महीनामा ४ हजार ७०० थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको छ ।

कार्यालयको लाइसेन्स शाखाका अनुसार चालू आर्थिक वर्ष २०७७/ ७८ को माघसम्ममा ४ हजार ६९८ ओटा लाइसेन्स बितरण भएको छ । कार्यालयले चालू वर्ष २०७७/ ७८ को माघसम्ममा सेवाग्राहीलाई ती लाइसेन्स जारी गरेको बताएको छ ।

कोरोना महामारीका कारण यो वर्ष गत मंसिरबाट मात्रै लाइसेन्सको परीक्षा सञ्चालन भएको थियो । मंसिरयता तीन महीनामा ३ हजार २८० सेवाग्राहीले नयाँ र १ हजार ४१८ जनाले वर्गीकरण थपेर लाइसेन्स बनाएका छन् । 

कोराना महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीका कारण लाइसेन्सको परीक्षा स्थगित भएकाले यो वर्ष सेवाग्राहीको चाप बढेको यातयात व्यवस्था कार्यालय प्रमुख शुशील साहले बताए ।

यो कार्यालयले बितेको चैत ६  गते यता लाइसेन्सको परीक्षा लिएको थिएन । गत असारमा केही दिन कार्यालय खुले पनि नविकरणको काममात्रै भएको कार्यालयले बताएको छ । यो वर्षको मंसिरदेखि लाइसेन्सको लिखित र ट्रायल परीक्षा पुनः सञ्चालन गरिएको प्रमुख साहले बताए । 

गत चैतमा लिखित परीक्षा दिएका र ट्रायल पास गरेका सेवाग्राहीले समेत अहिले लाइसेन्स लिइरहेका छन् । ‘यातायात व्यवस्था विभागले गत पुस महीनादेख लाइसेन्सका लागि अनलाइनबाटै आवेदन खुला गरेपछि सेवाग्राहीको चाप ह्वात्तै बढेको छ,’ साहले भने ।

कार्यालयले अहिले हप्तामा २ दिनसम्म ट्रायल लिएको छ । बितेको ७ महीनामा १५ हजार १७४ ओटा नविकरण, १ हजार १४३  ओटा प्रतिलिपि र ७३५ जना सेवाग्राहीको लाइसेन्स प्रतिलिपी र नविकरण भएको पनि कार्यालयले बतााएको छ ।

गत वर्ष २०७६/ ७७ को चैतको शुरू हप्तासम्ममा यो कार्यालयले १५ हजार २२७ ओटा लाइसेन्स बितरण गरेको थियो । चैतको ६ गते लिखित परीक्षा लिएकोमा कोरोना संक्रमणलाई कारण देखाएर सरकारले चैत ७ गतेदेखि २५ जनाभन्दा बढी मानिस भेला हुन रोक लगाएपछि त्यसयता लाइसेन्स बितरण स्थगित भएको थियो ।

Back to top