×

वीरगञ्ज । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश परिवहन सेवा फागुन महिना भित्रै सञ्चालनमा ल्याउने बताएका छन् ।

जनतालाई सरल, सुलभ तथा व्यवस्थित यातायात सेवा प्रदान गर्ने उद्देश्यले भौतिक पूर्वाधार विकास मन्त्रालयले धनतेरसका दिन ३ करोड ९ लाख ८२ हजार रुपैयाँमा ५ वटा बस खरिद गरेको थियो । ५ वटै बसको भुक्तानी गत पुस महिना मै भईसकेकोले कार्यविधि निर्माणको कार्य सम्पन्न भएलगत्तै बस सेवा सञ्चालनमा आउने मन्त्री सोनलले बताए ।

बस सेवा सञ्चालनका लागि एउटा संचालक समितिको गठन गरिनेछ । जसले बस सेवा संचालनको सम्पूर्ण जिम्मा उठाउने छ ।’ संचालक समितिले नै बसको चालक, सहचालक तथा कन्डेक्टरको भर्ती गर्ने मन्त्री सोनलले जानकारी दिए । यो प्रदेश परिवहन सेवा सञ्चालनमा आएपछि सार्वजनिक यातायातभन्दा सरल, सुलभ, सुरक्षित र व्यवस्थित हुने मन्त्री सोनलले दावी गरे ।

प्रदेश परिवहन सेवा सञ्चालन भएपछि यसले प्रदेशको ८ वटै जिल्लाका सदरमुकामलाई जोड्नेगरी सेवा प्रदान गर्ने छ । जनकपुरधामदेखि वीरगञ्ज, वीरगञ्जदेखि जनकपुरधाम र जनकपुरधामदेखि राजविराजसम्म परिवहन सेवा सञ्चालन गरिने मन्त्रालयले जानकारी दिएको छ । ५० सीट क्षमता भएको सो बसमा सीसीटीभी क्यामेरा, स्वचलित ढोका र वाइफाइको सुविधा समेत रहेको बताइएको छ ।
 

Back to top