×

वीरगञ्ज - गढीमाई युथ क्लब अपौनीलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै प्रथम पटेर्वासुगौली गोल्डकपको उपाधि बीरगन्ज युनिटिले आफ्नो कब्जामा लिएको छ । 

बुधवार सम्पन्न फाइनल खेलमा बीरगन्ज युनिटिका सरोज तामाङ्ले ५ मिनेटमै पहिलो गोल गरेर अग्रता लिएका थिए । खेल समाप्त हुन ११ मिनेट बाँकी हुँदा बिमल रानामगरले अर्काे गोल गर्दै अग्रता कायम राखेका थिए । 

मध्यान्तरपछि अपौनीले पाएको फ्रि किकको सदुपयोग गर्दै एलेक्सले गोल गरेपछि अपौनीले खाता खोलेको थियो । उपाधि हात पारेको बीरगन्ज युनिटिले नगद रु २ लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने उपविजेता अपौनी शिल्ड, मेडल र प्रमाणपत्रसहित १ लाखमै चित्त बुझाउने विवश भएको थियो । 

बिजेताहरुलाई पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष हरीनारायण चौधरीले पुरस्कार वितरण गरेका थिए । फाइनल खेलमा पहिलो गोल गर्ने सरोज तामाङलाई गाउपालिका कार्यपालिका सदस्य विपिन मुखियाले रु ५ हजार नगद प्रदान गरेका थिए । 

खेलको म्यान अफ द म्याच वीरगंज युनिटीका सुरज ठकुरी घोषित भए त्यस्तै प्रतियोगिताको म्यान अफ द सिरिजको उपाधि वीरगंज युनिटीका विमल रानामगरलाई प्रदान गरिएको थियो ।  

समता समाज नेपालका अध्यक्ष मधुकान्त चौधरीको अध्यक्षतामा भएको समापन कार्यक्रममा उत्कृष्ट मिडफिल्डर अपौनीका राधेश्याम महतो, उत्कृष्ट गोलकीपर युनिटीका सरोज तामाङ, उत्कृष्ट डिफेन्डर युनिटीका अनिल पटेल, उत्कृष्ट स्ट्राइकर युनिटीका सन्त गुरुङ, प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने अपौनीका अब्दुल्लाह, उत्कृष्ट कोच युनिटीका सुलभ राणालाई गाउँपालिका अध्यक्ष चौधरीले पुरस्कृत गरेका थिए ।

Back to top