×

वीरगञ्ज । क्रिकेट खेलको उत्थान तथा प्रवर्द्धन र गुणस्तरीय खेलाडी उत्पादनका लागि जिल्लामा पर्सा क्रिकेट सङ्घ गठन गरिएको छ । तर सङ्घ सम्पूर्णमा खेलको प्रवर्द्धन भन्दापनि नातावादमा फँसेको आरोप लागेको छ ।

सङ्घले प्रतियोगिताका लागि अपारदर्शी ढंगले आफ्नो निकटका व्यक्तिलाई खेलाडीका रुपमा छनोट गरेको आरोप लागेको हो । 

रौतहटमा हुनलागेको एउटा टुर्नामेन्टका लागि सङ्घको खेलाडी छनोटमा नातावाद हावी भएको आरोप लगाउँदै खेलाडीहरुले विरोध प्रदर्शन गरेका छन । उनीहरुले आइतबार वीरगञ्जस्थित नारायणी रङ्गशालामा पुगेर विरोध गर्दै जारी प्रशिक्षणमा अवरोध पुर्‍याएका थिए ।
 
टुर्नामेन्टका लागि खेलाडी छनौट गर्दा एकरुपता नभएको, योग्यता तथा खेलको आधारमा भन्दापनि आफ्नो नजिकको व्यक्तिलाई प्राथमिकता दिइएको र सङ्घले आफ्नो अधिकार क्षेत्रबाहिर गएर हस्तक्षेप गरेको असन्तुष्ट खेलाडीहरुको आरोप छ ।

सङ्घले हस्तक्षेप दादागरी शैलीमा नराम्रो प्रदर्शन गर्ने खेलाडीलाई गर्दै जानीजानी टिममा राखेर पर्साको क्रिकेट टिमलाई कम्जोर बनाएको खेलाडी अलियास मन्सुरीले बताए । 

'भर्खरी सम्पन्न प्रधानमन्त्री कपमा हाम्रो पर्साको टिमबाट गएका खेलाडीहरुले नराम्रो प्रदर्शन गरेका छन् । तरपनि सङ्घले त्यही खेलाडीहरुलाई अर्को प्रतियोगितामा लग्न खोज्दै छ,' अन्सारीले भने, 'यसरी गर्दा एक त् राम्रो खेलाडीहरुले अवसर पाईरहेका छैनन् । अर्कोतिर हाम्रो जिल्लाको टिम कम्जोर बन्दै गएको छ ।' 

सङ्घले क्रिकेट उत्थान तथा प्रवर्द्धनका लागि दुई वर्षमा एउटा गतिविधिसमेत नगरेको उनले आरोप लगाए ।

त्यसैगरी सङ्घका सदस्यसमेतले पदाधिकारीहरुले दादागरी गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालको फेसबुकमा एक स्टाटस लेख्दै पर्सा क्रिकेट संघका सदस्य निरज झाले खेलाडी छनौटमा पर्सा जिल्लामा अन्याय भईरहेको बताएका छन् । योग्यता भन्दा आफु निकटका खेलाडीलाई टीममा समावेश गरिँदा यहाँका योग्य खेलाडीहरु पक्षपातको सिकार बनेको झाको भनाई छ ।

'पर्साका जिल्लाबाट क्रिकेट खेल्नुछ भने, सेलेक्टरको चाप्लुसी गर्नुपर्छ, जो राम्रोको लागि उसलाई टीमबाट बाहिर हुनुपर्छ' पर्साका एक अर्का खेलाडी समिर अलीले सामाजिक सञ्जालको फेसबुकमा लेखेका छन् ।

पर्सा टिमका प्रशिक्षक उमेश उपाध्यायले पनि सङ्घको रवैया ठिक नभएको बताए । उनले खेलाडी छनोट गर्दा वरिष्ट प्रशिक्षकलाई समेत जानकारी नदिएर आ-आफैमा छनोट गर्दा टिमले पछिल्लो खेलहरुमा हार व्यहोर्नु परेको आरोप लगाए ।

सङ्घको रवैयाले छनोट समितिका सदस्यसमेत असन्तुष्ट छन् । 'छनोट प्रक्रियासमेत पूरा नगरी हचुवाको तालमा टिममा खेलाडी राख्ने गरिएको सङ्घका छनोट समितिका सदस्य नारायण पटेलले बताए । उनले सङ्घले आफूहरुसँग सल्लहासमेत नगर्ने गरेको आरोप लगाए ।

यता सङ्घका अध्यक्ष दावुद अन्सारीले छनोट पूर्ण रुपले पारदर्शी तरिकाबाट भएको बताए । छनोटमा नपरेका केहि असन्तुष्ट खेलाडीहरुले आएर विवाद गरेको बताउँदै उनीहरुलाई कारवाही गरिने जानकरी दिए ।

'प्रधानमन्त्री कपका लागि छनोट गर्दा हामीले सार्वजनिक सूचनानै निकालेर खेलाडीहरुलाई आफ्नो प्रस्तुति देखाउँन मौका दिएका थियौँ,'अन्सारीले भने, 'त्यसमा छनोट हुननसकेका खेलाडीहरुले विवाद खडा गरेका हुन् । सङ्घले कसैलाई काँखा र कसैलाई पाँखा गर्दैन ।'

Back to top