वीरगञ्ज । पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई वीरगञ्जबाट पक्राउ गरेको छ ।
भारत विहार राज्यको सिमावर्ती शहर रक्सौलबाट स्कुटरमा लुकाएर लागूऔषध वीरगञ्ज तर्फ ल्याउँदै गरेको बेला प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ निवासी साजत् थिङ रहेका छन् ।
शुक्रबार दिउँसो रक्सौलबाट वीरगञ्ज आईरहेको समयमा प्रहरी चौकी इनर्वाबाट खटेको प्रहरी टोलीले उनले चलाईरहेको स्कुटरलाई रजतजयन्ति चोकमा रोकेर चेकजाँच गर्दा ना. २५ प ४२१६ नम्बर को स्कुटीमा उनले विभिन्न प्रकारका प्रतिबन्धित लागूऔषध लुकाएर राखेको अवस्थामा पक्राउ गरेको थियो ।
प्रहरीले उनले स्कुटरमा लुकाएर राखेको १ सय बोतल विङ्गस् वायोटेक अनरेक्स, १ सय ५२ थान नुफिन एम्पुल, १ सय ५२ थान फेनागर्न एम्पुल, १ सय ५२ थान डाईजोपाम एम्पुल र ३० थान नाईट्राभेट जफत गरेको छ ।
थिङलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।