वीरगञ्ज । सम्पतिको लोभमा मान्छेले आफ्नै परिवारका सदस्यको हत्या गरेको कथाहरु तपाईंहरुले हिन्दी चलचित्रहरुमा अवश्यपनि देख्नु भएको छ होला । तर प्रदेश नम्बर २ को पर्सा जिल्लामा यसै कथासँग मिल्दो जुल्दो एउटा घटना भएको छ ।
पर्सामा एक व्यक्तिले सम्पतिको लोभमा आफ्नै भतिजाको निर्मम तरिकाले हत्या गरेको घटना प्रहरी अनुसन्धानको क्रममा खुलेको छ ।
घटना पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ६ चैनपुरको हो । गत पुष १ गते चैनपुरस्थित खेतको आलीमा रहेको पकडीको रुखमा पासो लागेको अवस्थामा प्रहरीले एक व्यक्तिको शव बरामद गरेको थियो ।
पासो लागेका व्यक्ति थिए पर्साकै बहुदरमाई नगरपालिका वडा नम्बर ४ बहुअरी निवासी २१ वर्षीय अकलेश राउत यादव । खेतमा झुण्डीरहेको उनको शव देखेपछि गाउँलेहरुले प्रहरीलाई खबर गरेका थिए । सुरुमा झट्ट हेर्दा अकलेशले आत्महत्या गरेको जस्तो देखिन्थ्यो । प्रहरीले पनि प्रारम्भिक रिपोर्टमा अकलेशले आत्महत्यानै गरेको हुनसक्ने जनाएको थियो । तर, अकलेशले आत्माहत्या गरेका थिएनन । उनको आफ्नै फुपाजु पर्ने व्यक्तिले सम्पतिको लोभमा उनको हत्या गरेका रहेछन ।
जिल्ला प्रहरी कार्यालले पर्साले शुक्रबार अकेलेशको हत्यारालाई सार्वजनिक गर्दै सम्पतिको लोभमा उनको हत्या आफ्नै फुपाजुले अन्य दुईजनासँग मिलेर गरेको जनाएको छ ।
अकलेशको सम्पति हत्याउँने चक्करमा पर्सागढी नगरपालिका वडा नम्बर ५ निवासी ५१ वर्षीय भागिरत राउत अहिरले स्थानीय अन्य दुईजनासँग मिलेर उनको हत्या गरेका थिए । प्रहरी अनुसार उनीहरुले सुरुमा अकलेशको घाटिँमा डोरीले कसेर उनको हत्या गरिएको थियो । त्यसपछि उनकै गलबन्दीको पासो बनाई उनलाई रुखमा झुण्ड्याइएको थियो ।
अकलेशको मृत्यु पश्चात प्रहरीले घटनास्थल र घटना अघीपछिका अवस्था र घटनासँग सम्बन्धित साना-साना तथ्यहरुलाई प्राविधिक रुपले सुक्ष्म विश्लेषण गर्दा उनको मृत्यु आत्महत्या नभएर हत्यापनि हुनसक्ने निष्कर्ष निकालेको थियो । त्यसपछि प्रहरीले पुन: हत्या हुनसक्ने दृश्टिकोणबाट अनुसन्धान सुरु गर्दा अहिरले अकलेशको हत्या गरेको खुलेको पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताए ।
अहिरले भतिजा अकलेशलाई मारेर उनको बुवा र ठूलो बुवाको नाममा रहेको सम्पूर्ण जग्गा र सम्पति आफ्नो बनाउँने लोभमा हत्या गरेको अनुसन्धानले देखाएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए ।
'अकलेशको ठूलो बुवाको कुनै सन्तान छैन । उनको सन्तान नभएको कारणले उनको भागमा पर्ने सम्पतिपनि अकलेशको हुन्थ्यो, 'प्रहरी उपरीक्षक पाण्डेले भने, 'अब अकलेशलपनि मरेपछि कानुन अनुसार सम्पूर्ण सम्पतिको हकदार अकलेशको फुपूका सन्तानक हुन्छ । यही सम्पति हत्याउँन योजनाबद्ध रुपमा अकलेशको हत्या उनका फुपाजुले गरेका रहेछन ।'
अहिरसँगै प्रहरीले पर्सागढी नगरपालिका वडा नम्बर ५ निवासी ४१ शेष ताहिर मियाँ र २७ वर्षीय छठु पटेललाई पनि पक्राउ गरेको छ । उनीहरुलाई अहिरले आर्थिक प्रलोभनमा पारेर हत्यामा संलग्न गराएका थिए ।