वीरगञ्ज । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य निजामुद्दीन समानीले प्रदेश २ सरकारले पोखरिया अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि उपलब्ध गराएको चार करोड ४ लाख रकम तोकिएको काम खर्च नगरिएकोमा आपत्ति जनाएका छन् ।
उनले पोखरिया नपालाई ज्ञापन बुझाउँदै प्रदेश सरकारले उपलब्ध गराएको रकम सम्बन्धित काममा खर्च गर्नेतर्पm कारबाई अगाडि बढाउन आग्रह गरे । नेता समानीले प्रदेश सरकारले रु ४ करोड ४ लाख पोखरिया नगरपालिकालाई जिल्ला अस्पतालको सञ्चालन, व्यवस्थापनमा खर्च गर्न उपलब्ध गराएकोमा सो बारे पटक–पटक काम अगाडि बढाउन आग्रह गर्दैआएकोमा बेवास्ता गर्दैआएको आरोप लगाए ।
उनले एनआइसियू, आइसियू, प्रसूति सेवा सञ्चालनको लागि भौतिक निर्माण तथा उपकरण खरीदको कार्य अगाडि नबढाएको भन्दै १५ दिनभित्र सो कार्य नगरिए धर्ना दिने चेतावनी दिएका छन । यसबारेमा पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले भवन निर्माणका लागि प्रक्रिया अघि बढिसकेको बताए । उनले अक्सिजन पाइपलाइन जडान र अस्पतालको मेडिकल फोहर जलाउने यन्त्रको लागि सम्बन्धित प्राविधिकको जिम्मा लगाएको र अविलम्ब काम अगाडी बढ्ने आश्वासन दिएका छन् ।