×

पर्सा । बालबिबाह, दाईजो प्रथा महिला हिंसा विरुद्धको तिन दिने तालिम पर्साको पटेर्वा सुगौली गाउँपालिकामा सुरु भएको छ । 

गाउँपालिकाका सम्पूर्ण वडाहरुबाट लगभग ७० भन्दाबढी महिलाहरुको सहभागितामा सुरु भएको तालिमको उद्घाटन गाउँपालिका उपाध्यक्ष ममता महतोले गरेकी थिइन । 

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी उपाध्यक्ष महतोले शिक्षाको आभावमा दाइजो जस्ता कुप्रथाहरु समाजमा जीवित रहेकोले शिक्षालाई प्राथमिकतामा राखेर छोराछोरीलाई समान शिक्षा प्रदान गर्न सुझाव दिएकी थिइन । उनले अभिभावकबाट छोराछोरी प्रति गरिने विभेदपूर्ण व्यवहारका कारणपनि समाज महिलाहरु हिँसामा पर्ने गरेको बताइन । 

महतोले मधेसी समूदायमा छोरीलाई बोझ बुझ्ने चलन भएको कारणले भूर्ण हत्या जस्ता अपराधिक क्रियाकलाप समेत मौलाएको बताउँदै सबैले मिलेर त्यसको विरोध गर्नुपर्ने सुझाव दिएकी थिइन

त्यसैगरी कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत भुजेन्द्र प्रसाद यादवले महिलाहरुको कारणपनि महिला हिँसामा पर्ने गरेको तर्क गरे । उनले महिलाहरुबाट नै दाइजोको माग धेरै आउँने गरेको कारणले पनि दाइजो समाजबाट हट्न नसकेको चिन्ता व्यक्त गरेका थिए । 

कार्यक्रम गाउँपालिकाका योजना प्रमुख राजकुमार महतो, शिक्षा प्रमुख शम्भु साह, बिधालय प्रअ मोहन दास, पत्रकार लालबाबु बानियालगायत ले मन्तब्य ब्यक्त गरेका थिए । तालिममा प्रशिक्षण नरेन्द्र साह र रितु कर्णले दिने छन् ।

Back to top