×

तस्विर सौजन्य ।

वीरगञ्ज । यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरेर दुई जनालाई पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले मंगलबार साँझ यातायात व्यवस्था कार्यालय जनकपुरमा छापामारी गर्दै पौने ३ लाख रुपियाँ घुसको रकमसहित दुई जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा कार्यालय सहयोगी भोगेन्द्र कापर र विचौलिया राजकिशोर भगत रहेको बुझिएको छ । छापामारी कर्ममा कार्यालयमा लुकाएर राखिएको पौने ३ लाख रुपैयाँसमेत बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

कार्यालय सहयोगकी कापरको कार्यालयमै रहेको कोठाको सोफा, खाट, दराज बाट २ लाख २३ हजार ८ सय रकम र दलाल भगतबाट ५० हजार घुस रकम टोलिले बरामद गरेको छ ।

विचौलिया भगतले आफु ट्याक्टरको लाइसेन्सको लागि कार्यालयका कम्प्युटर अपरेटर अनिल गिरिलाई ५० हजार रुपैयाँ घुससहित पास गरिदिने सेवाग्राहीको नामावली बोकेर पुगेको टोलिलाई बयान दिएका छन् ।

उनले गिरिलाई उक्त रकम र नामावली दिन पुगेकै बेला अख्तियारको टोलिले भित्रैबाट घुस रकमसहित नियन्त्रणमा लिएको जनाएको छ ।

कार्यालयका कर्मचारी गिरि एक दशकभन्दा बढी समयदेखि यातायात कार्यालय जनकपुरमा घुस र कमिसनको आखाडा जमाएर बसेका छन् । अन्य ठाउँमा सरुवा हुन लागेको बेला उनले पैसा र पावरको भरमा जनकपुर यातायात कार्यालयमै बस्दै आएका छन् । उनले एकदशक यता यातायात कार्यालयमै घुस र भ्रष्टाचार गरी करोडौंको सम्पति आर्जन गरेको कार्यालयकै एक कर्मचारीले बताएका छन् ।

सवारी चालक अनुमति पत्र निकालिदिने वापत सेवाग्राहीसँग लिएर मोटो घुस रकम कार्यालयमा रहेको गोप्य सूचनाका आाधारमा अख्तियारको बर्दिबास कार्यालयले झण्डै ६ घण्टा छापा मारेको हो । अपराहन्न साढे ४ बजेदेखि राति साढे १० बजेसम्म अख्तियारले कार्यालयमा खान तलासी गरेको छ ।

अख्तियारको टोलि कार्यालय पुग्दा कर्मचारीहरु भागाभाग भएका थिए । टोलिले कार्यालय प्रमुख विरेन्द्र साहलाईपनि खानतलासी गर्ने बेलासम्म नियन्त्रणमा लिएको थियो ।

घुसरकम, कागजात नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको र घुस लिनेमा संलग्न कर्मचारीहरुको खोजिकार्य जारी रहेको अख्तियारले जनाएको छ ।

पछिल्लो समय यातायात व्यवस्था कार्यालयमा व्यापक घुस तथा भ्रष्टाचार मौलाएको छ । कर्मचारी र दलालको सेटिंगमा सेवाग्राहीबाट रकम लिएर सवारी चालक अनुमति पत्र किनबेच हुने गरेको व्यापक जनगुनासो रहेको छ । केहि महिना अघि कार्यालयको पछाडि धानखेतमा ३ सय बढी स्मार्ट लाइसेन्स भेटेको थियो । तर त्यसमा संलग्न कर्मचारीलाई हालसम्म काबराही भएको छैन ।

Back to top