×

वीरगञ्ज । बारा सिद्धार्थ बैंक सिमराको हस्ताक्षर र छाप नै किर्ते गरेर मालपोत कार्यालय सिमरामा भौचर बुझाउने लेखनदासलाई अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

जय चुुरियामाई लेखापढीका सञ्चालक अवधेश महतो कहारले सिद्धार्थ बैंक सिमराको भौचरमा हस्ताक्षर र छाप किर्ते गरेर मालपोत कार्यालय सिमरामा बुझाउने क्रममा लाभकर र रजिस्ट्रेसन २ वटा फारममा हस्ताक्षर फरक भेटिएपछि शंका लागेर चेकजाँच गर्ने यसबारे प्रमाणित भएको हो ।

‘भौचरको हस्ताक्षर र छाप शंकास्पद देखिएकाले बैंक काउन्टरमा बुझ्दा खातामा जम्मा नभएको रकम रजिस्ट्रेसन पास र लाभकर फारममा हस्ताक्षरसमेत फरक भेटियो’, मालपोत कार्यालय सिमराका निमिक्त प्रमुख मनोजकुमार खनालले भने ।

बैकंको सहीछाप किर्ते गर्ने महतो २ सातादेखि फरार छन् । फरार महतोलाई इलाका प्रहरी कार्यालय सिमराले ‘संस्थाको छाप किर्ते’ मुद्दामा जिल्ला अदालतमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ । 

उनले पुष २६ गते पुँजीगत लाभकर ५९ हजार ८ सय ५० रुपैयाँ र राजस्व ४६ हजार ३ सय ८३ गरी १ लाख ६ हजार २ सय ३३ रुपैयाँको भौचरमा सिद्धार्थ बैँकको किर्ते सही, छाप प्रयोग गरी सिमरा मालपोतमा बुुझाएका थिए ।

जितपुुरसिमरा–८ स्थित रमौलीमा रहेको जग्गा बिक्री गर्ने क्रममा अन्हिया कोइरी र जग्गा खरिदकर्ता बन्दी सिलवालसँग महतोले रकम लिएको मालपोत कार्यालय सिमराले जनाएको छ ।

महतो २ सातादेखि फरार रहेका इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।‘अदालतबाट पक्राउ पुर्जी गरिसकेकाले हामीले खोजी रहेका छौं’, इप्रका सिमरा प्रमुख डिएसपी दीपक श्रेष्ठले भने । 

बैंकको छाप किर्ते गर्ने महतो त्यस घटनापछि फरार भएका छन् । ‘हामीले पुलिसलाई खबर गर्दा गर्दै भाग्यो’, मालपोत सिमराका लेखा प्रमुख तेजेन्द्र लम्सालले भने, 'महतोले यसअघि पनि पटक पटक बैकको काजगपत्र किर्ते गरेको भेटिएको छ ।'

प्रहरीले उनको फर्मबाट एक लाख १८ हजार ५ सय रुपैयाँसमेत बरामद गरेको छ ।

Back to top