वीरगञ्ज । नेपाल चिकित्सक संघ नारायणी शाखाले विद्युतीय पुस्तकालय (इ–लाइब्रेरी) को स्थापना गरेको छ ।
चिकित्सकहरुको लागि अधिराज्यमै पहिलोपटक नारायणी शाखाले इ–लाइब्रेरीको स्थापना गरेको शाखाका सचिव डा. उदयनारायण सिंहले बताए ।
आइताबार आयोजित इ–लाइब्रेरीको उद्घाटन समारोहमा बोल्दै डा. सिंहले भने, ‘पिजी र एमडी लगायतका तयारीको क्रममा चिकित्सकहरुलाई समय र पैसा दुइटै खर्च गर्नुपर्ने बाध्यता अब कम हुन्छ । केवल चिकित्सकहरुको सुविधाको लागि स्थापना गरिएको ई–लाइब्रेरी एकसाथ बीस जनाले प्रयोग गर्न सक्छन् ।’
डा.अरुण कुमार सिंहको अध्यक्षतामा समपन्न कार्यक्रमको प्रमुख अतिथिका रुपमा भारतीय वाणिज्यदुत नितेश कुमार रहेका थिए ।
कार्यक्रममा वाणिज्यदुत नितेश कुमारले चिकित्सकहरुको यस कदमलाई प्रशंसा गर्दै आवश्यक परे आगामि दिनमा सहायेग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
डा.अरुण कुमार सिंहले चुनावको बेला मेनुफेस्टोमा उल्लेखित प्रतिबद्धताको सार इ–लाइब्रेरीको परिकल्पनाले पुरा गरेको बताए ।
कार्यक्रममा डा. दिलिप चौरसिया, डा.सास्वत प्रसाद, डा.नौसाद हक, डा.फाहाद आलम, डा.गोरखनाथ मिश्र, डा. रामकिशोर सिंह, डा. कुशराज गिरी र डा. मनोज गुप्तालागायतका चिकित्सकहरुको सहाभागिता रहेको थियो ।