×

वीरगञ्ज १२ माघ । लद्दाखपछि भारत र चीनका सैनिकबीच फेरि सिक्किममा झडप भएको भएको छ । चिनियाँ सेनाले लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मिच्न कोशिस गरेपछि दुई देशका सैनिकबीच झडप भएको हो । झडपमा भारतीय र चिनियाँ दुवैतर्फका सेना घाइते भएका छन् ।

तीन दिन पहिला सिक्किमको ना कुलामा चीनले एलएसी बदल्ने कोशिस गर्दै भारतीय क्षेत्रमा प्रवेश गर्न खोजेपछि स्थिति तनावपूर्ण भएको थियो । यस दौरानमा भारतीय सैनिकहरुले चिनियाँ सैनिकलाई रोकेका थिए । यस क्रममा चीन र भारतका सैनिकबीच भएको झडपमा चार भारतीय र २० चिनियाँ सैनिकहरु घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमकाअनुसार अहिले स्थिति तनावपूर्ण रहे पनि स्थिर छ । भारतीय वरिष्ठ सैनिक अधिकारीका अनुसार सीमामा मौसम खराब भए पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । यस विषयलाई लिएर लद्दाखको मोल्डोमा आइतबार भारतीय र चिनियाँ सैनिक अधिकारीबीच राति अबेरसम्म वार्ता भएको थियो ।

१५ घण्टासम्म चलेको वार्ताका निर्णयहरु अहिल्यै नै सार्वजनिक गरिएको छैन् । तर भारतले सीमामा शान्ति कायम राख्न अपिल गरेको छ । यसअघि लद्दाख क्षेत्रमा दुवै पक्षबीच झडप भएको थियो । सो क्रममा २० भारतीय सैनिक मारिएका थिए ।

त्यतिबेला चीनतर्फ हताहती भएको बताइए पनि यस विषयमा औपचारिक रुपमा केही जानकारी गराइएको छैन । चीन र भारत सैनिकहरुबीच सीमा क्षेत्रमा तनाव कम गर्न लद्दाख वार्ता भइरहेको समयमा पूर्वी क्षेत्रमा झडप भएको समाचार आएको हो । सीमा विवाद उत्कर्षमा पुगेको बेला आइतबार मात्र भारत र चीनका सेनाबीच नवौं चरणको वार्ता भएको थियो । पैदल गस्तीमा रहेको चिनियाँ सैनिकहरुले नियन्त्रण रेखा पार गरेपछि झडप भएको भारतीय पक्षले जनाएको छ । एजेन्सी

Back to top