×

वीरगञ्ज । पर्साको धोवनी गाँउपालिकामा आज नेकपाको गाँउपालिका स्तरिय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । 

लंगडी चौकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा पर्सा अध्यक्ष प्रभु हजराले प्रचण्डको स्वार्थका कारण देशमा अस्थिरता आएको बताए । प्रमुख अतिथी समेत रहेका हजराले गलत मान्छेको हातमा सत्ता दिनुभन्दा जनतामा जानु उत्तम विकल्प ठानेर प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको तर्क गरेका थिए ।

यसैगरी केन्द्रिय सदस्य एवम् संबिधानसभा सदस्य राजकुमार गुप्ताले माधव प्रचण्डको बालहठका कारण नेपाली जनताले दु:ख पाएको आरोप लगाए । 

गुप्ताले लोकतन्त्रको सुन्दर पक्षनै निर्वाचन भएकोले निर्वाचनमा भाग लिन प्रचण्ड माधव समुहलाई आग्रह गरेका थिए । 

गुप्ताले संबिधानको रक्षा गर्न र देशमा सुशासन कायम गर्न अगामी बैशाखमा हुने निर्वाचनमा ओली नेतृत्वको नेकपालाई विजयी गराउन सबै कार्यकर्तालाई जनस्तरमा गएर काम गर्न सुझाव दिएका थिए ।

यसैगरि संबिधानसभा सदस्य एवम् केन्द्रिय सदस्य जयप्रकाश थारुले देशलाई ठुलो दुर्घटनबाट जोगाउन प्रधानमन्त्री ओलीले बाध्य भएर संसद् विघटनको कदम चालेको बताए । उनले दुई तिहाई बहुमत प्राप्त नेकपालाई समाप्त पार्न देशी विदेशी प्रतिक्रियावादीहरु हावी भएको आरोप समेत लगाएका थिए । 

कार्यक्रममा संविधानसभा सदस्य प्रद्युमन चौहान, नेकपाका केन्द्रिय सदस्य बसरुद्धीन अन्सारी, प्रदेश कमिटी सदस्य योगेन्द्र साह कानु, बलिराम साह, तेजप्रकाश निषाद, जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरी, श्याम प्रसाद पटेललगायतले आफ्नो मन्तव राखेका थिए । कार्यक्रममा अकलेश साह, सन्तोष पटेल, सद्दाम अहमद, सुनिल साह कानु, अब्बास मियाँलगायतको नेता कार्यकर्ताहरु उपस्थिती रहेको थियो । 

नेकपा धोबिनी गाउँपालिका अध्यक्ष मजिद मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रम कार्यक्रमको सञ्चालन विरेन्द्र साहले गरेका थिए । कार्यक्रम पूर्व नेकपाले गाउँपालिकामा र्‍याली निकालेर शक्ति प्रदर्शन गरेको थियो ।

Back to top