×

तस्विर सौजन्य : प्रतीक दैनिक ।

वीरगञ्ज । नेपाल र भारत दुवै देशको नागरिकता लिएका एकजना व्यक्तिमाथि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो र गृह मन्त्रालयको निर्देशनपछि कारवाही प्रक्रिया सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सालाई गृह मन्त्रालय र अनुसन्धान ब्युरोले दोहोरो नागरिकता लिएका वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ निवासी सोमेन्द्र सिंहमाथि कारवाही गर्न निर्देशन दिएको हो ।

दोहोरो नागरिकता लिएका सिंहलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय पर्साले प्रहरीलाई पत्राचार गरेको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए ।

भारत विहार राज्यको वैशालीस्थित हाजीपुर निवासी किशोर सिंहका छोरा सोमेन्द्र सिंहले नेपाल र भारत दुवै देशको नागरिकता राखेको उजुरी परेपछि अनुसन्धान सुरु भएको थियो । अनुसन्धानका क्रममा सिंहले २०६३ चैत १२ गते टोलीबाट नागरिकता लिएका पाइएको स्रोतले दावी गरेको छ । 

सिंह भारतको अहमदाबादस्थित क्याडिला फर्मास्युटिकल्सको नेपालका लागि आधिकारिक विक्रेता हुन् । 

उनले पैसाको प्रभावमा चलखेल गरेर नेपाली नागरिकता प्राप्त गरेको बुझिएको छ । सिंह २०५४ चैत २८ गते भारतीय दूतावास लैनचौरमा आफ्नो नाम दर्ता गरी नेपाल प्रवेश गरेका थिए । त्यसपछि २०६३ मा टोलीबाट उनले पैसाको दममा नेपाली नागरिकता लिएको उनि विरुद्ध गरिएको उजूरीमा उल्लेख छ ।

अनुसन्धानका कर्ममा तत्कालीन नागरिकता टोलीका प्रमुख राजकुमार अधिकारीले सिंहलाई जन्मको आधारमा नागरिकता दिएको पाइएको छ । नेपाली नागरिकताको आधारमा यातायात विभागबाट ०२.०५.००४११४६६ नम्बरको सवारीचालक अनुमतिपत्र तथा भारतमा जन्मेकी उनकी पत्नी मीना सिंहले पनि वैवाहिक अङ्गीकृत नागरिकता लिएकी छन् ।

२०६९ जेठ १६ गते जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत सुकदेव लम्सालले सिंहकी पत्नी मीनालाई वैवाहिक अङ्गीकृत नागरिकता दिएको उजूरीमा उल्लेख छ ।

प्रदीप खण्डेलवालका छोरा राहुल खण्डेलवालसँग मिलेर सिंहले भारतबाट औषधि आयात गरी अवैधरूपमा नेपाली मुद्रा विदेश पठाउने गरेको अनुसन्धान ब्युरोले अनुसन्धानको क्रममा फेला पारेको उजूरीमा उल्लेख छ ।

Back to top