×

वीरगञ्ज । विगत केहि दिनदेखि तराई-मधेस क्षेत्रमा बढेको चिसो ज्यानमारा सावित भएको छ । चिसोले गर्दा प्रदेश नम्बर २ मा मात्रै चार जनाले ज्यान गुमाई सकेका छन् । ज्यान गुमाउनेमा एक जना बालकसमेत रहेको प्रहरीले जनाएको छ ।

प्रदेश नम्बर २ स्थित प्रादेशिक प्रहरी कार्यालय जनकपुरधामले केही दिनयता मौसममा एकाएक परिवर्तन आएपछि कठ्याङ्ग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका कारण प्रदेशको विभिन्न स्थानमा एक बालकसहित चार जनाले ज्यान गुमाएको बताएको छ ।

कार्यालयका अनुसार चिसो र शीतलहरबाट प्रभावित भई सर्लाहीको हरिपूर्वा वडा नम्बर ४ का २४ वर्षीय रोजाई शेख, सिरहा कर्जन्हा वडा नम्बर ३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, बरियापुर वडा नम्बर का ८५ वर्षीया प्रयागी देवी साह र मिर्चैया वडा नम्बर ७ का ८ वर्षीय बालक जाबिर राइनको मृत्यु भएको छ ।

प्रदेश नम्बर २ का आठवटै जिल्लाका ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न बस्ती शीतलहरले बढी प्रभावित भएकाले चिसोबाट बच्न यहाँका १ सय २७ ठाउँमा आगो ताप्ने व्यवस्था गरिएको प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले राससलाई जानकारी दिए । सबैभन्दा बढी अति विपन्न तथा गरिब परिवारलाई जाडो तथा शीतलहरबाट सुरक्षित राख्न विभिन्न दातृ निकायको सहयोगमा कम्बल वितरण गरिएको छ ।

शरीरलाई छोप्ने न्यानो लुगा, ओड्ने र ओछ्याउने कपडाको अभावमा विपन्न परिवार तथा दैनिक ज्यालादारी गरी गुजारा चलाउने परिवार अहिले कठ्याङ्ग्रिदो चिसोबाट बचन परालकै ओड्ना, डसना, गुन्द्रीजस्ता सामान ओढेर रात बिताउने गरेका छन् ।

तापक्रममा गिरावट आएपछि बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सम्बन्धित स्थानीय तहले सबैमा अनुरोध गरेको छ ।

हालको दक्षिणी पूर्वी अरव सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वीविहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव परिरहेकाले मौसममा खराबी आएको हो । जसले गर्दा अधिकतम तापक्रम घट्न गई चिसो बढन गएको मौसम विज्ञको भनाइ छ ।

चिसो बढेकै कारण प्रदेश नम्बर २ का अधिकांश जिल्लामा विद्यालय बन्द गरिएको छ । चिसोबाट सबैभन्दा बढी बालबालिका, दमरोगबाट प्रभावित भएका वृद्धवृद्धा तथा दैनिक ज्यालादारी गरी घर खर्चको जोहो गर्ने मानिस प्रभावित भएका छन् । चिसोबाट प्रभावित भएका बिरामी उपचारका लागि अस्पताल आउनेको सङ्ख्या बढ्दै गएको छ ।

Back to top