×

वीरगञ्ज । तराई-मधेसमा चिसो बढेसँगै बन्द भएका वीरगञ्ज महानगरपालिका भित्रका विद्यालय खोल्ने वीरगञ्ज महानगरपालिकाले निर्देशन दिएको छ ।

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) पर्सा, आवाशीय विद्यालय सङ्घ (एनप्याब्सन) र नेपाल शिक्षक महासङ्घ पर्साले महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखासँगको समन्वयमा यही आईतबारदेखि तीन दिनकालागि बन्द भएका वीरगञ्जका विद्यालयहरुलाई खोल्न वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले निर्देशन दिएको हो ।

वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सोमबार एउटा सूचना जारी गर्दै सम्पुर्ण विद्यालयहरुलाई मंगलबारदेखि नियमित समयमा विद्यालयबाट पठनपाठन सुरु गर्न निर्देशन दिएको छ । मौसममा सुधार आएको कारण विद्यालयहरु खोल्न सूचना जारी गरिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द लाल कर्णले बताए ।

यता प्याब्सन पर्साले भने सङ्गठनसँग आबद्ध विद्यालयहरू पुरानै निर्णय अनुसार बुधबारदेखि सञ्चालनमा आउने जनाएको छ । प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साहले वीरगञ्ज महानगरपालीकाले विद्यालय खोल्न निर्णय गरेपनि विद्यार्थीहरुलाई सूचित गर्न समस्य हुनेभएको हुनाले बुधबारदेखि नै विद्यालयहरू खुल्ने बताए ।

तर, प्याब्सन भित्रका केहि विद्यालयहरुले भने मंगलबारदेखि विद्यालय खुल्ने भनेर सूचना प्रकाशित गरिसकेका छन्  । वीरगञ्ज महानगरको शैक्षिक प्रशासन महाशाखा र शैक्षिक संघ संस्थाहरुबीच समन्वयको आभावका कारण विद्यार्थी अन्योलमा परेका छन् । 

शनिबारपनि विद्यालयहरु बन्द हुने घोषणा भएपछि नेपाल शिक्षक महासंघ र एनप्याब्सनका विद्यालयहरुले त्यस्तो कुनै निर्णय नभएको बताउँदै सामाजिक सञ्जाल मार्फत आपत्ति जनाएका थिए ।

Back to top