×

वीरगञ्ज । गएको पुष २२ गते राति वीरगञ्जको परवानीपुर ड्राइपोर्ट सडक खण्डबाट कन्टेनर ट्रकमा ल्याइरहेको १ सय ७ केजी चरेस प्रहरीले बरामद गर्यो ।

एक/एक किलोको प्याकेट बनाएर ल्याइएको चरेससहित कन्टेनर ट्रक र त्यसका चालकलाई राती साढे १० बजे प्रहरीले नियन्त्रणमा लियो । 

तर, त्यसबारेमा प्रहरीले आधिकारीक रुपमा कतै सार्वजनिक गरेन । बरु सञ्चारमाध्यमले भोलिपल्ट विभिन्न माध्यमबाट पत्ता लगाएर त्यसबारे समाचार प्रकाशन गरे । त्यसपछि प्रहरीले चरेस बरामद गरेको स्वीकार गर्यो, तर आधिकारीक रुपमा भने ठूलो परिमाणमा बरामद भएको चरेस र त्यसमा संलग्न व्यक्तिको बारेमा सूचना सार्वजनिक गरेन ।

त्यस्तै यही माघ १ गतेका दिन वीरगञ्जबाटै स्रोत नखुलेको २ लाख ७४ हजार रुपैयाँसहित एक जना भारतीयलाई प्रहरीले पक्राउ गर्यो । त्यसबारेमा पनि प्रहरीले आधिकारीक सूचना दिन आनाकानी गर्यो । सञ्चारमाध्यमले यसबारेमा जिज्ञासा राख्दा पनि जिल्ला प्रहरी कार्यालय पर्साबाट सूचना पाउन सकेन ।

त्यस्तै त्यही राती वीरगञ्जकै भुटनदेवी क्षेत्रबाट प्रहरीले भारतहुँदै ल्याइएको लागुऔषध २ हजार थान नाइट्रोभेट र ३ बोरा डाइजोपाम बरामद गर्यो । तर, यस बारेमा पनि प्रहरीले सूचना सार्वजनिक गरेन । 

यो त प्रतिनिधि घटनामात्रै हो । यस्ता कयौँ घटना अहिले प्रहरीले सार्वजनिक नै नगरी भित्र-भित्रै लुकाउने गरेको छ । सञ्चारमाध्यमले आफ्नो स्रोत प्रयोग गरेर सूचना खोजतलास नगर्ने हो भने पर्सा प्रहरीको गतिविधि बारे स्थानीयलाई कुनै जानकारी नै हुँदैन । 

यसअघि सामान्य घटनाको बारेमापनि सञ्चारमाध्यमलाई मेल र जिल्ला प्रहरी कार्यालयको फेसबुक पेजमार्फत सूचना सार्वजनिक गर्ने गरेको जिल्ला प्रहरी कार्यालय पर्साले पछिल्लो समय भने साना ठूला सबैजसो घटनाको जानकारी लुकाउन थालेको छ ।  

जिल्ला प्रहरी कार्यालयको यस्तो रबैयाले घटना सार्वजनिक नगरे मिलेमतो गर्न सकिने भएकाले सूचना लुकाइएको हो कि भन्ने आशंका पनि उब्जाइदिएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्व परिवर्तन भएसँगै सूचना प्राप्त गर्न यहाँका सञ्चारकर्मीलाई असहज भएको छ । गङ्गा पन्त जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा रहँदा सञ्चारकर्मीले सहज सूचना प्राप्त गर्ने गरेका थिए । तर अहिले बेलबहादुर पाण्डेले जिल्ला प्रहरी कार्यालयको कार्यभार सम्हालेसँगै सूचना प्राप्त गर्न कठिनाई भएको छ । 

यसै बीच जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले सूचना सार्वजनिक नभएको बारे आफूलाई जानकारी नभएको बताए । सार्वजनिक गर्नुपर्ने सूचनाहरु सार्वजनिक गर्न मातहतका प्रहरी अधिकारीहरुलाई भनिसकेको भन्दै उनले जिल्ला प्रहरी कार्यालयलाई सूचना लुकाउनु पर्ने अवस्था नरहेको बताए ।  

Back to top