×

वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर आगामी बैशाखमा घोषणा गरेको निर्वाचन गराउँन आठ अर्व रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ ।

आइतबार निर्वाचन आयोगले अर्थसचिवसँग गरेको छलफलपछि बैशाखमा निर्वाचन गराउँन आठ अर्व रुपैयाँसम्म खर्च लाग्न सक्ने अनुमगन गरिएको जनाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार चुनाव खर्चबारे सामान्य छलफल भएको छ । यसबारे आइतबार अर्थसचिवसँग छलफल गरिएको उनले जानकारी दिए ।

“हिजो अर्थसचिवसँग कुरा भएको छ । अहिले लगभग आठ अर्बको अनुमान भएको छ । टुङ्गो लागिसकेको छैन् ।  यो हप्ताभित्र आँकलन टुङ्ग्याएर अर्थ मन्त्रालयलाई पत्र पठाउँछौँ,” प्रवक्ता श्रेष्ठले भने ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिबाट गएको पुष ५ गते प्रतिनिधिसभा विघटन गरेर चुनावको घोषणा गरिएको थियो । वैशाख १७ र २७ गतेका लागि चुनावसमेत तय गरिएको छ ।

उता, प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । यसबारे निरन्तर सुनुवाइ भइरहेको छ । निर्वाचन आयोगले भने निर्वाचनको तयारी अघि बढाएको छ ।

आयोगले आइतबार निर्वाचनका विषयमा राजनीतिका दलका प्रतिनिधिसँग छलफलसमेत गरेको थियो । आयोगले निर्वाचनका लागि मतदान स्थल र केन्द्र तथा मतदाता नामावली अध्यावधिकको कार्य पनि अघि बढाएको छ ।

वार्षिक प्रतिवेदन बुझाउँदै 
निर्वाचन आयोगले सोमबार वार्षिक प्रतिवेदन बुझाउने भएको छ । आयोगले प्रतिवेदन दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने प्रवक्ता श्रेष्ठले बताए । “आयोगको प्रतिवेदन आज दिउँसो १ बजे राष्ट्रपतिसमक्ष पेस गर्ने कार्यक्रम छ”, उनले भने ।

Back to top