×

वीरगञ्ज । वीरगञ्जस्थित नेपाल रेल्वेको जग्गामा बसोबास गर्दै आएका दलितहरुको बस्तीलाई महानगरले डोजर लगाएर खाली गराएपछि विचल्लीमा परेका स्थानियहरुले क्षतीपुर्तिको माग गर्दै घरबार बिहीन सङ्घर्ष समिति बनाएर ज्ञापन पत्र बुझाएका छन् ।  

अन्यत्र बाँसस्थान सुनिश्चित नगरि महानगरले आफुहरुको घरटहरा भत्काएको भन्दै स्थानियहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएका हुन् ।

पूर्व सूचना बिना गुण्डागर्दी शैलीमा डोजर लिएर पुगेको महानगरको टोलिले आफुहरुलाई घरबाट सर-सामान निकाल्न समेत नदिई घरटहरा भत्काएको स्थानियहरुको आरोप छ । उक्त बस्तीमा बसोबास गर्दै आएका १६ घर परिवारले वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी, वडा नम्बर २१ का अध्यक्ष हबिब मियाँ तथा सुनिल वनस्पतीका सञ्चालकलाई विपक्षी बनाई ज्ञापन पत्र बुझाएका छन् ।

विभिन्न प्रलोभनमा परि नगरप्रमुख सरावगीले सुनियोजित ढङ्गले आफुहरुको बस्तीमा भत्काउन लगाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । गत मसिर २६ गतेका दिन दिउँसो घरमा विभिन्न कार्यमा संलग्न रहेका आफुहरुलाई घर खाली गर्न समेत नदिई डोजर चलाउन लगाएको आरोप लगाएका छन् ।

बाँसस्थानको अभावमा खुल्ला आकाश मुनि जीवन बिताईरहेको स्थानियहरुले ज्ञापन पत्रमा उल्लेख गरेका छन् । गैर काुननी प्रक्रियाले बिस्थापन गरिएको आफुहरुको बाँसस्थानको व्यवस्था मिलाई आवश्यक क्षतिपुर्तीका साथै विपक्षीहरु उपर कारवाही गर्नका लागि स्थानियहरुले माग गरेका छन् ।

यसअघि वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २१ परवानीपुर स्थित रहेको रेल्वेको जग्गामा बस्दै आएका दलित बस्तीको १२ वटा घरमाथि डोजरले भत्काएकाे थियाे ।

Back to top