×

वीरगञ्ज । प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र सङ्घीयता विरोधी व्यक्ति भएको बताएका छन् ।

बारा जिल्लाको सदरमुकाम कलैयामा जनता समाजवादी पार्टीले आयोजना प्रतिनिधिसभा विघटन विरुद्ध आयोजना गरेको विरोद प्रदर्सन तथा सभालाई सम्बोधन गर्दै मन्त्री सोनल प्रधानमन्त्री ओलीले सुरु देखि गणतन्त्र र सङ्घीयता विरोधी रहेको बताए ।

प्रधानमन्त्री ओलीले सङ्घीयता र गणतन्त्रलाई सम्पात पार्न प्रतिनिधिसभा विघटन गरेको मन्त्री सोनलले आरोप लगाए । 'प्रधानमन्त्री ओलीलाई सुरुदेखि गणतन्त्र र सङ्घीयता मनपर्दैन । उनले सुरुमै भनेका थिए नेपाल जस्तो देशमा गणतन्त्र र सङ्घीयता टिक्दैन । तर हामीले आज देशलाई सङ्घीय गणतन्त्र बनाएका छौँ । त्यही नपचेर उनले प्रतिनिधिसभा विघटन मार्फत सङ्घीयता र गणतन्त्रलाई सम्पात पार्न खोज्दै छन्,' मन्त्री सोनलले भने ।'

सरकारसँग दुई तिहाईको बहुमत हुँदाहुँदै पनि संसद् विघटन हुनु दुर्भयपूर्ण भएको बताउँदै मन्त्री सोनलले ओलीको कदम जनताको मनोभावना, सङ्घीयता, गणतन्त्र, लोकतन्त्र र संवैधानिक सर्वोच्चतामाथि कुठाराघात भएकोले दु:ख व्यक्त गरे ।

जसपाको केन्द्रीय सदस्यसमेत रहेका मन्त्री सोनलले धोति कुर्ता लगाएर र्‍याली निकाल्दैमा मधेसको जनतालाई मुर्ख बनाउँन नसकिने बताए । पहिचान, अधिकार र सत्तामा समान अधिकार नदिएर धोति कुर्ता लगाउँदैमा मधेसी जनता भ्रमित नहुने उनले दावी गरे । 

'धोती कुर्ता लगाएर र्‍याली निकाल्दैमा मधेसको भावना जिती सके भनेर भ्रममा ओली नपरेपनि हुन्छ,' उनले भने, 'सुरुमा त्यही धोती लगाउँने मधेसी जनताको राष्ट्रियता र देशप्रेम प्रति शंका गर्ने अनि अहिले आफू अफ्ठ्यारोमा परेको बेला धोती लगाएर फकाउँन खोज्ने । देशको सिमालाई बाहीरी शक्तिबाट रक्षा गर्ने असली योद्धा मधेसवासी हुन् । मधेसी जनता मुर्ख छैनन् । मधेसी जनतालाई थाहा छ उनीहरुको अधिकारका लागि कुन पार्टीले सङ्घर्ष गर्दैछ ।'

प्रचण्डले ओलीसँग एकता गरेको विषयमा बोल्दै मन्त्री सोनलले प्रचण्डलाई भगौडा संज्ञा दिए । सङ्घीयता र पहिचानको आन्दोलनलाई त्यागेर सत्ताको लोभमा भाग्ने प्रचण्ड भगौडा भएको मन्त्री सोनलले भने । 'देशमा क्रान्ति गर्छौं, सबैलाई पहिचान दिलाउँछौँ भन्ने प्रचण्ड सत्ताको लोभमा भागेर ओली समक्ष पुगे । अहिले त्यही ओली मनपर्न छोडे । किन प्रचण्ड जी?' भन्दै उनले प्रश्न गरे । 

मन्त्री सोनलले काङ्ग्रेसले पनि जनतालाई भ्रममा राखेको बताए । उनले संसद् विघटन काङ्ग्रेसको सहमतिमा भएको आरोप लगाउँदै भने, 'अविश्वासको प्रस्तावमा काङ्ग्रेसले साथ् दिएको भए आज संसद् विघटन हुने थिएन । तर काङ्ग्रेसले ओलीसँग पहिलानै सहमति गरेको थियो । अहिले आन्दोलन र विरोधको नाटक मात्र मञ्चन गर्दै छ ।'

उनले प्रदेश सरकारलाई अधिकार सम्पन्न नबनाएको कारण देशमा कर्मचारी तन्त्रले बल पाएको बताए । स्थानीय सरकारलाई प्रदेशको मातहातमा दिन माग गर्दै उनले प्रदेश नम्बर २ को सरकार देशको सबैभन्दा उत्कृष्ट भएको दावी गरे ।

Back to top