×

वीरगञ्ज । प्रतिनिधिसभा विघटन भएको झन्डै एक महिना बितिसक्दापनि नेपाली काङ्ग्रेसले सडक सङ्घर्ष जारी राखेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको विरुद्ध नेपाली काङ्ग्रेस पर्साले शनिबार विरोध प्रदर्शन गरेको छ ।

नेपाली काङ्ग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीको नेतृवमा पार्टीले शनिबार पर्सा जिल्लाको सदरमुकाम वीरगञ्ज महानगरपालिकामा वृहत र्‍यालीसहितको विरोध प्रदर्शन गरेको हो ।

वीरगञ्जको मुख्य चोक घण्टाघरबाट सुरु भएको र्‍याली नगरको विभिन्न स्थान पुगेर पुन: घण्टाघरमा कोणसभामा परिणत भएको थियो । र्‍यालीमा प्रधानमन्त्री ओली, राष्ट्रपति भण्डारी र नेकपा सरकार विरुद्ध कांग्रेसका कार्यकर्ताहरुले चर्को नाराबाजी समेत गरेका थिए ।

कोणसभामा बोल्दै वक्ताहरुले प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका थिए । वक्ताहरुले ओली एक्लैले देशलाई सङ्कट तर्फ डोर्‍याएको आरोप लगाएका थिए । 

र्‍यालीमा पूर्वमन्त्री अजय चौरसिया, प्रदेशसभा सदस्य ओमप्रकाश सर्राफलगायत पार्टीका अन्य नेता कार्यकर्ता, विद्यार्थी सङ्गठनका सदस्यहरुको उपस्थित रहेको थियो ।
 

Back to top