×

पर्सा १ माघ । पर्साको छिपहरमाई गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण हुने भएको छ । जिल्लाको ग्रामिण क्षेत्रका जनतालाई गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध गराउँने उद्देश्यले छिपहरमाई गाउँपालिकामा अस्पताल निर्माण गर्न लागिएको हो ।

गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले अस्पताल निर्माणका लागि काम अगाडी बढाइएको जानकारी दिए । उनले अस्पताल निर्माणका लागि नक्सा, डिजाईनको र डिपीआरको काम अघि बढीसकेको बताए । 'नक्सा, डिजाईन र डिपीआरको आम अगाडी बढेको छ,' अध्यक्ष गुप्ताले भने, 'छिट्टै जग्गा अधिग्रहण गरेर निर्माणको काम सुरु गर्ने छौँ ।' 

७ देखि १० कट्ठा ऐलानी जग्गा अधिग्रहण गर्दै टेण्डर प्रक्रियामा गएर अस्पताल निर्माणका लागि छिट्टै शिलन्यास गरिने अध्यक्ष गुप्ताले दावी गरे । 

अस्पताल निर्माण भएपछि गाउँपालिकासहित नजिकका अन्य पालिकाहरुका जनतालाई समेत स्वास्थ्य उपचारमा सहयोग मिल्ने गुप्ताले विश्वास व्यक्त गरे । अहिले अस्पताल निर्माण सम्पन्न भएपछि सानोभन्दा सानोभन्दा सानो स्वास्थ्य समस्या पर्दासमेत सदरमुकाम वीरगञ्ज जानुपर्ने बाध्यताको समेत अन्त्य हुने बताए । संघ सरकारको ससर्त अनुदानबाट अस्पताल बन्न लागेको छ । 

उनले यसअघि गाउँपालिकाका जनतालाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले हाल तुल्सीवर्वा र टिहुकी सेढामा बर्थीङ्ग सेन्टरको स्थपना गरिएको जानकारी दिए ।

निर्वाचन पूर्व गाउँपालिकाका जनतासँग गरेको बाचा अनुरुप पाँच वर्षभित्र अस्पताल निर्माण गर्न पाउँदा खुसी महसुस भएको बताउँदै गुप्ताले उत्साह व्यक्त गरे । 'गाउँपालिकाका जनतालाई शिक्षित बनाउँने र स्वस्थ राख्ने मेरो प्रमुख अजेण्डा हो,' उनले भने, 'त्यसैले गाउँका बालबालिकालाई साक्षर बनाउँन आधुनिक प्रविधि युक्त विद्यालय, प्राविधिक क्याम्पस स्थापना गर्दै अब प्रत्येक वडामा एउटा बर्थीङ्ग सेन्टर स्थापना गर्दै अस्पताल निर्माण गर्न लागेको हुँ ।' 

Back to top