×

वीरगञ्ज २९ पुष । ग्रिन सिटि सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले रुङ्गटा वेलफेयर सोसाईटीको सहयोगमा वीरगञ्जका विभिन्न स्थानमा कम्बल वितरण गरेको छ ।

विगत केहि दिनदेखि तराई-मधेस क्षेत्रमा बढ्दै गएको चिसो र शितलहरलाई मध्यनजर गर्दै केन्द्रले वीरगञ्ज महानगरपालिका वडा नम्बर १० को बजरङ्ग टोलस्थित आमाको माया छात्रावास, वडा प्रहरी कार्यालय विर्ता र वडा प्रहरी कार्यालय श्रीपुरमा कम्बल वितरण गरेको हो ।

आमाको माया छात्रावासमा रहेका २५ जना बालबालिकाहरुका लागि केन्द्रले रुङ्गटा वेलफेयर सोसाईटीको सहयोगमा ३० थान कम्बल वितरण गरेको थियो । त्यसैगरी वडा प्रहरी कार्यालय विर्ता र वडा प्रहरी कार्यालय श्रीपुरमा रहेको थुनुवा कक्षका लागि १०/१० वटा कम्बल वितरण गरिएको केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए ।

कम्बलहरु पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनाल, मनोजित कुँवरलगायतले हस्तान्तरण गरेका थिए । केन्द्रका अध्यक्ष खेतनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी निरीक्षक राजेश राज पुरी, दीपक साह, विपद व्यवस्थापन गुल्म प्रदेश नम्बर १ वीरगञ्जका प्रहरी उपरीक्षक सरोज प्रजापति, नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव युवराज खड्का, वीरगञ्ज महानगरपालिका सरसफाई शाखाका प्रमुख सर्फुद्धीन मियाँ, असराज अलिलगायतको उपस्थिति रहेको थियो ।

रुङ्गटा वेलफेयर सोसाईटीले विभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा समय-समयमा आवश्यकता अनुसार कम्बल, साडी, खाद्या सामग्रीलगायत सहयोग गर्ने गरेको छ ।
 

Back to top